बाबुराम प्रधानमन्त्री बनेकामा कलाकारलाई कस्तो लाग्यो?
Monday, 29 August 2011 Posted by कृष्णपक्ष थापा




ऋचा शर्मा, अभिनेत्री
हुन त जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान नै चरितार्थ हुने होला। तैपनि जनताको सोच अनुसारको काममा बाबुराम भट्टराईबाट केही आशा गर्नुपर्छ। उहाँ बौद्धिक नेता भएकाले पनि विकासमा ध्यान दिनुहुन्छ कि जस्तो लागेको छ। पहिलो प्राथमिकता त संविधान निर्माणमै दिनुपर्छ। त्यसपछि देशको उज्ज्वल भविष्यको खाका कोर्नुपर्छ।

 
श्रीकृष्ण श्रेष्ठ, अभिनेता 
जनताले आशा गरेको व्यक्ति प्रधानमन्त्री हुनुभएको छ। धेरैले प्रतीक्षा पनि गरेका थिए। काम हेर्न बाँकी एउटा नेता उहाँ पनि हुनुहुन्छ। जनताको अपेक्षा पूरा गर्नु उहाँको चुनौती हो। देशमा शान्ति र सुरक्षा दिएर पहिला आफ्नो औचित्य पुष्टि गर्न सक्नुपर्छ। यी दुई चिज भयो भने आर्थिक सुधारको बाटो आफैं देखा पर्छ। चुनौतीका बीच जनताको चाहना पूरा गर्न सके उहाँ सबैभन्दा सक्षम प्रधानमन्त्रीको रूपमा रहनु हुनेछ। नभए जुन जोगी आए पनि कानै चिरेको भने जस्तै हो।
 
राजवल्लभ कोइराला, अभिनेता 
बाबुराम भट्टराई प्रधानमन्त्री हुनुपर्छ भन्ने मनस्थिति धेरैको थियो। त्यसैले राम्रै भएको छ। तर, देशको राजनीति आइसियुमा पुगेका बेला धेरै चुनौती धेरै छन्। शान्ति, संविधान, सेना समायोजन जस्ता धेरै विषय सल्टाउन सक्नुपर्छ। उहाँ बौद्धिक र सक्षम व्यक्ति त हो। तर, समय प्रतिकुल छ। अरु दलहरुले अनुकुल स्थिति बनाउन सहयोग गर्नुपर्छ।
उपप्रधानमन्त्रीको विषयमै विवाद सुरु भइसकेकोले नमिठो सुरुवात देखिएको छ। यो जनताले खोजेको कुरा होइन। आम जनताको सरोकारमा सरकार केन्द्रित हुनुपर्छ। देश प्रतिस्पर्धा होइन योगदानले बन्छ भन्ने कुरा सबैले सोच्न जरुरी छ।
 
सुगम पोखरेल, गायक
म कुनै पार्टीमा आवद्ध छैन। तर, व्यक्तिगत रूपमा उहाँजस्ता राम्रो छवि भएको बौद्धिक नेता प्रधानमन्त्री हुनु देश र जनताका लागि सुखद कुरा हो भन्छु। उहाँले अर्थमन्त्री हुँदा कसैले नसोचेको राजश्व संकलन गरेर देखाइनु भयो त्यसले उहाँको आर्थिक विज्ञता देखिसकेको छ। देशको अर्थ व्यवस्था बलियो बनाउने प्रयास उहाँले यसपटक पनि गर्नुपर्छ। उहाँको अभियानलाई मधेशवादी दलहरुले सहयात्री भएर र अन्य दलले पनि राम्रो प्रतिपक्ष भएर सहयोग गरे भने यो सरकारले देशलाई नयाँ गति दिनसक्छ। माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल पनि जनताले आशा गरेको नेता हुनुहुन्थ्यो। उहाँले पूरा गर्न नसकेको काम बाबुराम भट्टराईले गर्न सक्नुपर्छ।
 
नीता ढुंगाना, अभिनेत्री 
मलाई त बाबुराम भट्टराई प्रधानमन्त्री हुनु भएको खबरले खुशी तुल्याएको छ। उहाँजस्तो शिक्षित मान्छेको देशमा सधैं खाँचो हुन्छ। अब अरुले गर्न नसकेको काम देखाउने दायित्व उहाँको काँधमा छ। म सफलताको कामना गर्न चाहन्छु। साथै शिक्षित युवापुस्ताको विदेश पलायनलाई रोक्ने अवस्था सिर्जना गर्न अनुरोध गर्छु।
Nagariknews

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates