अपहरितको सूचना दिनेलाई एक लाख
Monday, 22 August 2011 Posted by कृष्णपक्ष थापा

टेकनारायण भट्टराई, पाल्पा, भदौ ६- १७ दिनदेखि अपहरित विद्यार्थीको सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिइने भएको छ। तानसेन-३ बारुदखानाका १७ वर्षे किशोर न्यौपानेको परिवारले आइतबार यस्तो घोषणा गरेको हो। पाल्पाका पत्रपत्रिका र एफएम रेडियोमा सुराकी दिने वा भेट्टाउनेलाई परिवारसँग सम्पर्क गर्न आग्रहसहित फोन नम्बर दिइएको छ। साउन २१ देखि अपहरणमा परेका किशोरलाई कसले कहाँ लग्यो भन्ने अझै अज्ञात छ।

अपहरणपछि एक सातासम्म अपहरणकारीले दैनिकजसो फोन गरेर फिरौतीको बार्गेनिङ गरेका थिए। '१० दिन भयो न त अपहरणकारीले सम्पर्क नै गरेका छन्, न त छोराको पत्तो लागेको छ,' उनले भने, 'मारिएकै रैछ भनेपनि थाहा पाए हुन्थ्यो, सकुशल छोरा घरमा ल्याउनेलाई त झनै बढी सहयोग गर्न हुन्थ्यो।'उनले छोरा भेटाउने वा सुराकी दिने व्यक्तिको विवरण गोप्य राखिने बताए।

आमा नुनाकुमारीले छोरा भेटिने अन्तिम आशमा सूचना गरेको बताइन्। 'मेरो मोबाइलमा फोन गरेर पैसाको कुरा गर्थे, १ करोडबाट घट्दै १५ लाखसम्म फिरौती बुझाउने टुंगो लागेको हो,' उनले नागरिकसँग भनिन्, '१५ लाख बुझ्ने र छोरो बुझाउने भन्ने टुंगो लागेको हो तर पैसा बुझ्ने दिनमा उनीहरूले फोन गरेनन्, त्यसपछि १० दिन भयो। कुनै सम्पर्क भएको छैन।'

अपहरित किशोर तानसेनकै जनता उच्च माविबाट कक्षा १२ को विज्ञान संकायको परीक्षा बिग्रिएपछि यसै वर्ष सेन उच्च माविमा व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएका थिए।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates