तीजमा पशुपतिमा साढे ६ हजार सुरक्षाकर्मी
Monday, 29 August 2011 Posted by कृष्णपक्ष थापा

काठमाडौं, भाद्र १३ -

पशुपति क्षेत्र विकास कोषले तीज पर्व व्यवस्थित गर्न ६ हजार ५ सय सुरक्षाकर्मी खटाउने भएको छ । त्यसबाहेक यसपालि मन्दिरभित्र महिला स्वयमसेवी मात्र सुरक्षामा खट्नेछन् । दर्शनार्थीको चाप व्यवस्थित गर्न यस्तो तयारी गरिएको हो । मन्दिर परिसरमा भने महिला र पुरुष दुवै खटिने कोषले जनाएको छ ।

तीज व्यवस्थापनबारे जानकारी गराउँदै कोषका प्रचारप्रसार तथा प्रत्यक्ष प्रसारण समितिका संयोजक उमेश कुइँकेलले भने, 'नित्य दर्शन गर्ने पुरुषहरूले पनि तीजका दिन बिहान सात बजेभित्र मन्दिर परिसरबाट बाहिरिन सक्नुपर्छ ।' भदौ १४ गते नेपाली महिलाले हरितालिका तीज मनाउनेछन् । नेपाल प्रहरी, नेपाली सेना र सरकारका विभिन्न निकायका पदाधिकारी गरी तीन हजारको संख्यामा सुरक्षाकर्मीहरू हुनेछन् भने ५५ संघसंस्थाका स्वयमसेवी र नेपाल स्काउट गरी तीन हजार पाँच सयको संख्यामा स्वयमसेवीहरू खटिने कोषले जनाएको छ ।

विशेष पास लिएर दर्शन गर्नेका लागि हजार रुपैयाँको टिकट व्यवस्था गरेको छ । टिकट सबै बैंकमार्फत् वितरण भइरहेको कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले जानकारी दिए । 'टिकट लिनेहरूलाई छुट्टै गेटबाट छिटो दर्शन गराइनेछ ।'चन्दन, प्रसाद वितरण, खानेपानी, सरसफाइ, अस्थायी शौचालय, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य शिविरहरू सञ्चालन लगायतको व्यवस्थापन गर्ने कोषले जनाएको छ ।

दर्शनार्थीहरूले तीन लाइनमा बसेर दर्शन गर्न सक्नेछन् । मित्रपार्कबाट गौरीघाट, जयवागेश्वरीबाट भुवनेश्वरी र गौशालाबाट वज्रघर हुँदै दर्शन गर्न सक्ने गरी तीनवटा लाइनको व्यवस्था गरिएको छ । सवारी पार्किङका लागि तिलगंगा र सिफलमा व्यवस्था मिलाइएको छ । मांस, मदिरा निषेधित क्षेत्र भएकाले त्यसलाई स्थलगत निरीक्षणण गर्ने कार्य भइरहेको कुइँकेलले जानकारी दिए । - कान्तिपुर

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates