पतिले केटी लिएर हिँडेको देखेर डिभोर्स
मनोज अधिकारी, पोखरा, भदौ २१- काभ्रेको पनौती घर भएकी रजनी शाक्य (नाम परिवर्तन) ले पतिसँग बस्न नसक्ने भएकाले सम्बन्ध विच्छेद गरी पाउँ भन्दै जिल्ला अदालत कास्कीमा निवेदन दर्ता गरिन्। 'किन श्रीमान्सँग बस्न सकिएन?' जिल्ला अदालतका न्यायाधीशले उनलाई सोधे। 'सधैं काम नगरी हिँड्ने र मेरो वास्ता नगर्ने,' रजनीले कारण खोलिन्, 'पटक-पटक अरु केटी लिएर हिँडेको देखेँ। अब श्रीमान् मानेर सँगै बस्ने मनै छैन।' बाबुसँग व्यापारका सिलसिलामा पोखरामा बस्दै आएकी उनले पसलमै आउजाउ गर्ने केटासँग प्रेमसम्बन्ध कायम भएपछि दुई वर्षअघि प्रेम विवाह गरेकी हुन्।
पतिबाट माया नपाएको, आफूलाई समय नदिई अरुलाई लिएर हिँडेको र जमानाअनुसार खान-लाउन नदिएकाले अलग हुने निर्णय गरेको रजनीले बताइन्। अहिले पतिसँग अलग भएर बाबुकै व्यापारमा फर्किएकी छन्। अहिले पति-पत्नीबीच सामान्य बेमेलदेखि पारिवारिक झैझगडाका सामान्य निहुँमा समेत सम्बन्धविच्छेद गर्ने क्रम बढेको छ। जिल्ला अदालत कास्कीको तथ्यांकले पनि वर्षेनी सम्बन्ध विच्छेदका निवेदन बढ्दो क्रममा देखाउँछ। गत आर्थिक वषमै ३ सय ७५ जोडीले सम्बन्ध विच्छेद गरेको जिल्ला अदालत कास्कीले जनाएको छ। २०६७/०६८ मा कुल ४ सय २४ सम्बन्धविच्छेद्का मुद्दा दर्ता भएको थियो।
'आपसी बेमेल, एकआपसमा शंकालु व्यवहार, घरेलु हिंसा, देश-विदेशको अलग बसाइलगायत कारणले सम्बन्ध विच्छेदका मुद्दा वर्षेनी बढेका छन्,' जिल्ला अदालतका स्रेस्तेदार सूर्यबहादुर थापाले नागरिकसँग भने। उनका अनुसार यस्ता मुद्दा लिएर आउने अधिकांश महिला पढेलेखेका र प्रेम विवाह गरेका छन् । पत्नीले कुनै पनि कारणसहित निवेदन दिए सजिलै पतिसँग सम्बन्ध विच्छेद हुने कानुनी व्यवस्था छ। कानुनको यही सहजताका कारण धेरैले सानोतिनो असमझदारीमै सम्बन्ध विच्छेद गर्ने गरेको देखिएको थापाले बताए।
जिल्ला अदालतमा दायर हुने मुद्दामध्ये सम्बन्ध विच्छेद सबैभन्दा बढी हो। गत आवमा दर्ता भएका सम्बन्ध विच्छेद का ४९ मुद्दा अझै फर्छ्योट हुन बाँकी छ।
भित्री कारण अर्कै भए पनि धेरैजसो महिला सजिलोका लागि घरेलु हिंसाको बहाना लिएर सम्बन्ध विच्छेद का लागि अदालत पुग्छन्।
'८० प्रतिशत महिला घरेलु हिंसाका कारण देखाएर श्रीमान्सँग सम्बन्ध विच्छेद गर्न आउँछन्,' स्रेस्तेदार थापाले भने, 'सजिलोका लागि खान-लाउन नदिएको, हेला गरेको, विदेशमा गएर नफर्किएको, अर्कै केटी लिएर हिँडेको जस्ता कारण देखाउने बढेका छन्।' पतिले सम्बन्ध विच्छेद गर्न चाहे गाउँ/नगरदेखि सिफारिस लिएर आउनुपर्छ भने अदालतमा पत्नीले मन्जुरी दिनुपर्छ। कानुन व्यवसायीका अनुसार पतिसँग छुट्टिएर अंश लिई स्वतन्त्र हुन, आफूखुसी विदेश जान, अर्कै युवकसँगै प्रेम वा घरजम बसाउन महिलाबाट सम्बन्ध विच्छेद का मुद्दा आउने गरेका छन्।
'अधिकांशले कृत्रिम बहाना बनाउने गरेका छन्,' एक कानुन व्यवसायीले भने, 'यसरी सम्बन्ध विच्छेद गर्न आउने महिला अधिकाँश प्रेम विवाह गरेका, छोराछोरीका आमा भइसकेका र २५ देखि ३५ वर्ष उमेर समूहका हुन्छन्।'अदालतमा सम्बन्ध विच्छेदका कतिपय मुद्दा फर्जी समेत आउने गरेका छन्। अंश तथा अन्य लेनदेनको व्यवहार मिलाउन र विदेश यात्रासम्मका अवसरका लागि नियोजित रुपमै पति-पत्नीले यस्ता मुद्दा लिएर आउने क्रम पनि बढ्दो छ।
'वास्तविक कारण जेसुकै भए पनि सबै प्रक्रिया पूरा गरेर आएपछि अदालतले सम्बन्ध विच्छेद गराउनैपर्छ,' स्रेस्तेदार थापाले भने, 'केही श्रीमान्-श्रीमती यहाँ आएर सम्बन्ध विच्छेद गराउँछन् र ढोकैदेखि हात समातेर जान्छन्। हामी हेरेर हाँस्छौं।' - नागरिक




