मिनी ग्रिड विद्युत परियोजनाको परीक्षण सुरु
Wednesday, 21 September 2011 Posted by कृष्णपक्ष थापा

डिसीनेपाल डटकम संवाददाता - लघु जलविद्युत परियोजनालाई एकीकृत गरेर यहाँको ठेउले खोलामा मुलुककै नमुना मिनी ग्रिड विद्युत परियोजनाको परीक्षण सुरु गरिएको छ। सात परियोजनाबाट उत्पादन गरिएको १३२ किलोवाट बिजुलीलाई एउटै ग्रिडमा जम्मा गरेर परीक्षण स्वरुप विद्युत वितरण गर्न थालिएको हो। कुश्मिशेरासँगैको ठेउले खोलामा निर्माण गरिएका लघु जलविद्युत परियोजनालाई जोडेर परीक्षण प्रसारण सुरु गरिएको जिल्ला वातावरण तथा ऊर्जा शाखा बाग्लुङले जनाएको छ। 'परियोजनालाई एउटै ग्रिडमा जोडेर विद्युत उत्पादन गरी परीक्षण स्वरुप विद्युत प्रसारण सुरु गरिएको छ,' ऊर्जा शाखाका इन्जिनियर वैकुण्ठ चालिसेले भने, 'यो सफल भए मुलुकभर ग्रामीण लघु जलविद्युत परियोजनामा यो प्रविधि प्रयोग गरिने छ।' सयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा करिब १ करोड ५० लाखको लागतमा परियोजना निर्माण गरिएको हो।

भारतको वाइटेक कम्पनीको प्राविधिक सहयोगमा विद्युत उत्पादन गरिएको छ। ती योजनामा जिल्ला ऊर्जा तथा वातावरण शाखाको प्राविधिक सहयोग छ। स्थानीयले करिब १० लाखको श्रमदान गरेका छन्। कालुङखोला लघु जलविद्युत प्रदर्शनी परियोजना पहिलो र दोस्रो, राङखानी गाविसस्थित ऊर्जाखोला लघु जलविद्युत परियोजना पहिलो, ऊर्जा खोला दोस्रो, उर्जा खोला तेस्रो, नन्द राइसमिल सर्कुवा र ठेउले खोला लघुजलविद्युत परियोजनाबाट उत्पादन गरिएको कुल १ सय ३२ किलोवाट विद्युतलाई एउटै स्टेसनमा संकलन गरिएको छ।



६ किलोवाटदेखि २५ किलोवाटसम्मका साना सात योजना २ करोड ८९ लाख रुपैयाँको लागतमा यस अगाडि नै निर्माण सम्पन्न गरिएको थियो। परियोजनाबाट पैयुथन्थाप, राङखानी र सर्कुवा गाविसका १ हजार २ सय ७२ घरधुरी लाभाविन्त भएका छन्। साना विद्युत परियोजनामा बिग्रँदा अँध्यारोमा बस्नुपर्ने बाध्यता थियो। अब स्थानीयले यो समस्याबाट मुक्ति पाउने छन्। विद्युतलाई ११ केभिए लाइनबाट प्रसारण गरिएको छ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates