तनहु, आश्विन २४,
सोमबार राति करीव ११ बजे सतिस्वारा ८ बिर्तामा रोकिराखेको मोटरसाइकल तोडफोड गर्ने क्रममा स्थानीयले लखेट्दा भीरबाट खसेर अन्दाजी २१ वर्षीय एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यासनगरपालिका २ दमौलीका विजय अधिकारी रहेको प्रहरीले जनाएको छ । स्थानीयले लखेट्दा भाग्ने क्रममा तोडफोडमा संग्लन व्यासनगरपालिका १ भादगाउँका २२ बर्षीय रञ्जन गुरुङ र क्यामिन गाविसका २१ बर्षीय सुभास भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त वडाको पोखरी छाप भन्ने स्थानमा सांस्कृतिक कार्यक्रम हेर्न गएका उनीहरुले बिर्ताका स्यामबहादुर गुरुङ र कृष्ण अधिकारीको घरमा ढुङ्गामुढा प्रहार गरेको र कार्यक्रम स्थलमा पार्किङ्ग गरी राखिएको ग ३ प ४५९९ नम्बरको मोटरसाइकल समेत तोडफोड गरेको स्थानीयले बताएको प्रहरी निरीक्षक विरेन्द्र शाहीले बताए । उनले स्थानीय ४ जना गाउँलेलाई समेत नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भई रहेको समेत जानकारी दिए ।