२ भदौ, काठमाडौँ । काठमाडोँको पुरानो बसपार्कमा २५ तलाको काठमाडौँ टावर बन्ने भएको छ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको दृश्यावलोकनसमेत गर्न मिल्ने गरी बहुउपयोगी ‘काठमाडौँ टावर’ निर्माण गर्ने निर्णय गरेको हो ।
महानगरपालिकाका कार्यकारी अधिकृत गणेश राईका अनुसार पुरानो बसपार्कको करिब २२ रोपनी जग्गामा बनाइने उक्त टावर नेपाली कला र शैलीअनुरुपको हुनेछ । टावरको विस्तृत खाका तयार पार्न महानगरपालिकाले विभिन्न क्षेत्रका विज्ञ तथा इन्जिनियरसँग छलफल थालेको छ । ‘टावर निर्माणका लागि विज्ञ तथा आर्किटेक्टसँग छलफल गरिरहेको छौँ, चाँडै टुंगोमा पुर्याउँछौँ’ राईले भने । टावर निर्माण गर्न यही भदौ महिनामा टेन्डर आहृवान गर्ने तयारी महानगरपालिकाको छ ।
राईले टावर सार्वजनिक-निजी साझेदारी अवधारणा अन्तर्गत निर्माण गर्न लागिएको बताए । टावरको ढाँचा तयार भएपछि लगानीको स्रोत जुटाउन काम अगाडि बढाइने जानकारी उनले दिए । असोज अन्तिम साता निर्माण सुरु हुने यो टावर सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने योजना छ । राष्ट्रिय भवन संहिता ऐनअुनसार भूकम्प प्रतिरोधात्मक क्षमतासहतिको हुने उक्त भवनको सबैभन्दा तलको तलामा २०० बस राख्न मिल्ने बसपार्क हुनेछ ।
दोस्रो तलामा तीन सयको संख्यामा कार, जिप र माइक्रो बस तथा तेस्रो तलामा पाँच सयजति मोटरसाइकल राख्ने सुविधा छ । टावरको अन्तिम तलामा उपत्यकाको दृश्यावलकोन गर्न मिल्ने कक्ष निर्माण गरिने छ । त्यसमुनिको तालामा विश्वभरका आधुनिक र परम्परागत परिकारका लागि विभिन्न रेष्टुराँ सञ्चालन गराउने महानगरपालिकाको योजना छ ।
अन्नपूर्ण पोष्टबाट




