दोस्रो पटकको समयसिमा पनि आज सकिदै, अब के हुन्छ ?
Tuesday, 23 August 2011 Posted by कृष्णपक्ष थापा

७ भदौ, काठमाडौं । राष्ट्रपति डा.रामबरण यादवले राष्ट्रिय सहमतीको सरकारका गठनका दोस्रोपटक दिएको समयसिमा पनि आज सकिदै छ । प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रियामा ठोस प्रगति हुन नसकेको भन्दै साउन २९ गते राजिनामा दिएपछि राष्ट्रपति यादवले गत साउन ३० गते नेपालको अन्तरिम संबिधानको धारा ३८ को उपधारा १ अनुसार राष्ट्रिय सहमतीको सरकार गठनका लागि सात दिनको समयसीमा दिनुभएको थियो ।

उक्त समयमा दलहरुबीच सहमति हुन नसकेपछि राष्ट्रपति यादवले दलहरुको आग्रहमा थप ३ दिनका लागि समय बडाउनुभएको थियो ।
यसबीचमा सहमति प्रयासमा माओवादी, काग्रेस, एमाले र मधेसवादी दलले द्धिपक्षीय र त्रिपक्षीय छलफललाई तीव्रता दिए पनि सहमतिमा पुग्न असफल भएका छन । भावी सरकारको नेतृत्वमा माओवादी र कांग्रेसले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् ।माओवादीले उपाध्यक्ष डा.बाबुराम भट्टराई र कांग्रेसले वरिष्ठ नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री उम्मेदवार तोकेको छ । संविधानसभाको ठूलो दलका नाताले सरकारको नेतृत्व आफूले लिदा शान्तिप्रक्रिया सहजतापूर्वक अगाडि लैजान सकिने माओवादीको दाबी छ भने कागे्रसले हतियार र जनसेनाबाट अलग नभई माओवादी नेतृत्व अमान्य हुने जिकिर गरिरहेको छ ।

आज अबेर सम्ममा पनि सहमति जुट्न नसके राष्ट्रपतिबाट अन्तरिम संविधानको धारा १ सय ३८ को उपधारा २ अनुसार बहुमतीय सरकार गठनका लागि आब्हान हुनेछ । झलनाथ खनाल प्रधानमन्त्री हुनुपूर्व एकल उमेद्वार रामचन्द्र पौडेलका लागि १७ पटकसम्म भएको निरर्थक निर्वाचन भने यसपाली दोहोरिने छैन । आठमहिना अघि सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा अब प्रधानमन्त्रीको निर्बाचनमा अनुपस्थित हुन वा तटस्थ बस्न पाइने छैन ।

तटस्थ बस्न पाइने व्यबस्थाले चुनाव लम्बिएको दावी सहित अधिबत्ता चन्द्रकान्त ज्ञवाली, राजकुमार ढकाल, शिवराम तिमिल्सीना, राजेन्दै मर्हजन र विमल ज्ञवालीले व्यबस्थापिका संसद सचिवालय, संबिधानसभा सचिवालय,सभामुख, कानुन मन्त्रालय र तत्कालीन प्रधानमन्त्रीका उमेद्वार रामचन्द्र पौडेललाई बिपक्षी बनाई गत असोज १६ गते रिट दायर गरेका थिए । त्यसमाथि सुनुवाई गर्दै सर्बोच्चले पुष २ गते तटस्थ बस्न नपाइने आदेश जारी गरेको थियो ।

एकीकृत नेकपा माओबादीले सहमतिय वा बहुमतीय दुवै प्रक्रियाका लागि उपाध्यक्ष डा.बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको उमेद्वार बनाउने निर्णय गरेको छ भने काग्रेसमा त्यसबारे बिबाद कायम रहेको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates