'कविताको आत्महत्यामा आमा समूह दोषी'
Wednesday, 24 August 2011 Posted by कृष्णपक्ष थापा

कल्पना घिमिरे ,

काठमाडौ, भाद्र ८ - संसदीय समितिले बुटवल योगीकुटीकी कविता थापाको आत्महत्यामा स्थानीय महिला जनजागरण आमा समूहलाई मुख्य दोषी देखाएको छ । संसद्को महिला बालबालिका अन्तर्गतको उपसमितिको अनुसन्धानले आत्महत्याको कारण समूहको यातना र दुव्र्यवहार भएको ठहर गरेको हो । समितिले आत्महत्या गर्न बाध्य पार्ने दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ ।

उपसमितिले अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै 'सार्वजनिक स्थलमा यातना र दुव्र्यवहार गरेपछि थापाले सहन नसकेर आत्महत्या गरेको देखिएको' बतायो । उपसमिति संयोजक विनोद पहाडीले सोमबार समितिमा स्थलगत अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही गर्न अविलम्ब कानुनको तर्जुमा गर्नुपर्ने औंल्याए । पहाडी संयोजकत्वको चार सदस्यीय टोलीले २५ र २६ साउनमा स्थलगत अध्ययन गरेको थियो । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासन, छिमेकी, आफन्त, परिवार र विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरी उपसमितिले प्रतिवेदन तयार पारेको पहाडीले बताए ।

उनका अनुसार आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही गर्ने कानुनी व्यवस्था नभएकाले पीडितलाई न्याय दिलाउन समस्या परेको छ भने दोषी उम्किने गरेका छन् । २१ साउनमा योगीकुटी देवस्थल मन्दिरमा भजनकीर्तन चलिरहेकै अवस्थामा समूह आबद्ध महिलाले थापामाथि दुव्र्यवहार गरेका थिए । 'नियमित मदिरा सेवन गरी समाजको मर्यादा भंग गरेको भन्दै जनजागरण आमा समूह र मन्दिरमा सहभागी पुरुषको पहलमा थापालाई हातखुट्टा बाँधी मोसो दलिएको पाइएको छ,' प्रतिवेदनमा उल्लेख छ, 'सार्वजनिक स्थलमा थापामाथि दुव्र्यवहार भइरहेको अवस्थामा नजिकै रहेको प्रहरी प्रशासनले चासो नदिएको पाइयो ।'

'पवित्र धार्मिक स्थलमा प्रवचन र भण्डारा चलिरहेकै समयमा मान्छेलाई हातखुट्टा बाँधेर मोसो दल्नेजस्तो अमानवीय काम गर्नु नै ठूलो अपराध हो,' पहाडीले भने, 'त्यसैको कारण आत्महत्या गर्न बाध्य भएपछि घटनामा संलग्न सबैको अनुसन्धान गर्नुपर्छ ।' सार्वजनिक स्थलमा दुव्र्यवहार भएका बेला नजिकै रहेको प्रहरीले चासो नदेखाएका कारण योगीकुटीका इन्चार्जसहित टोली परिवर्तन गर्न समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates