सञ्चितालाई बधाईको ओइरो
Tuesday, 23 August 2011 Posted by कृष्णपक्ष थापा

स्मृति ढुंगाना, काठमाडौं, भदौ ६- आइतबार राति पुत्रलाभ गरेकी अभिनेत्री सञ्चिता लुइँटेललाई भेट्न राजधानीको नर्भिक अस्पतालमा सोमबार कलाकारको भीड लाग्यो। मुम्बईमा रहेका उनका पति अभिनेता निखिल उप्रेति पनि काठमाडौं आएका छन्। आइतबारदेखि उनी सञ्चिताकै रेखदेखमा खटिएका छन्। 'केही समयको लागि नेपाल आएको हुँ। नेपाली फिल्म खेल्नेबारे अहिले कुनै सोच छैन,' निखिलले भने। शनिबार काठमाडौं आएका यी हिरोले मुम्बईमै व्यस्त रहेको बताए।

'उता केही फिल्म गरिरहेको छु। त्यसैले पनि अहिले नेपालमा फिल्म खेल्दा आफैलाई अप्ठ्यारो हुन्छ,' उनले नागरिकसँग भने अस्पतालमा निखिलसहित उनका बाबुआमा र दिदीहरू लक्ष्मी खरेल, डेनिना देवकोटा र दाजु हरि उप्रेती पनि पुगेका थिए।
भक्तपुरमा आफ्नै घर भए पनि शान्तिनगरस्थित दिदीको घरमा बसिरहेको निखिलले बताए। जेठी पत्नी कोपिला र उनको छोरा भने भक्तपुरको घरमा बस्दै आएका छन्। शल्यक्रिया गरेर बच्चा निकालेकाले सञ्चिता तीन दिन अस्पतालमै रहनेछिन्।
शल्यक्रियामा संलग्न डाक्टर ज्योति अग्रवालले भनिन्, 'बच्चाको तौल साधारणभन्दा बढी र रक्तचाप कम भएकाले शल्यक्रिया गर्नुपर्‍यो। आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिएर केही दिन हाम्रै निरीक्षणमा राख्न लागेका हौं।' सोमबार अभिनेत्री अरूणिमा लम्साल र रेजिना उप्रेती पनि अस्पताल पुगेका थिए। सञ्चिताले आफ्ना समकालीन अभिनेत्रीहरुसँग छोराको स्याहारमा केही समय बिताउने बताइन्। 'अभिनयबाट छोटो ब्रेक लिनुपर्छ होला,' सञ्चिताले आफू पनि छिट्टै मुम्बई जाने जानकारी दिइन्। यो विश्रामपछि काम थाल्दा फिल्मको स्तरप्रति सचेत रहने भलाकुसारीसमेत गरिन् सञ्चिताले।

रेजिनाले ठट्टा गरिन्, 'आफू सरहको साथीले छोरा पनि पाइसके। मैले भने केटा पनि खोजेको छैन।' फिल्म क्षेत्र बाहेकको केटा आफ्नो प्राथमिकतामा पर्ने उनले बताइन्। गर्भवती अरुणिमाले सञ्चिताको जस्तै स्वस्थ सन्तानको चाहना व्यक्त गरिन्। पछिल्लो समय नेपाली फिल्ममा विवादित बनेका निखिलले सुटिङ रोकेर काठमाडौं आएको जानकारी दिए। 'अहिले साथीभाइ र पारिवारिक भेटघाटमै व्यस्त छु। केही पारिवारिक काम पनि सकाउनु छ,' उनी केही समयअघि 'परिचय'को सुटिङमा आएका थिए। त्यतिबेला धेरैले फिल्म खेल्न अनुरोध गरे पनि केही समय पर्खने उनको भनाइ थियो। - नागरिक

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates