इजरायल खुला सय भिसा जारी
Saturday, 20 August 2011 Posted by कृष्णपक्ष थापा

काठमाडौ, भाद्र २ -
वैदेशिक रोजगारका लागि सबैभन्दा सुरक्षित र आकर्षक मानिएको इजरायल बिहीबारदेखि नेपालीका लागि खुला भएको छ ।'इजरायल सरकारले बिहीबार नेपाली कामदार आउन दिने निर्णय गरेको यहाँको परराष्ट्र मन्त्रालयले हामीलाई जानकारी दिएको छ,' इजरायलस्थित नेपाली दूतावासका एक अधिकारीले कान्तिपुरलाई भने ।

ती अधिकारीका अनुसार कियर गिभर -बूढाबूढीको स्याहारसुसार गर्ने व्यक्ति) र कृषिका लागि काम गर्न आउन सयवटा भिसासमेत जारी गरेको छ । 'यो खुसीको खबर बाँड्न पाउँदा निकै रमाइलो लागेको छ,' उनले भने, 'सबै हिसाबले सुरक्षित र कमाइले आकर्षक मानिएको यो ठाउँमा नेपाली काम गर्न पाउनु निकै ठूलो फाइदा हुन्छ ।' उनका अनुसार इजरायलमा हाल सात हजार नेपाली कामदार छन् । त्यसमध्ये ९० प्रतिशत कामदार महिला छन् । त्यहाँ एक कामदारको कम्तीमा १२ सय डलर कमाइ हुने उनले बताए ।

इजरायले कसरी खुलायो भन्ने विस्तृत विवरण भने दूतावासलाई जानकारी दिएको छैन । दुई वर्षअघि अपि्रल २००९ मा इजरायल र नेपालका वैदेशिक रोजगार व्यवसायीले निकै बढी पैसा कामदारसँग असुल गरेको भन्दै बन्द गरेको थियो । 'अब हामीले यो पाठ सिक्न जरुरी छ,' उनले भने, 'त्यसका लागि सम्बन्धित पक्षहरू संवेदनशील भएर लाग्नुपर्छ ।'

इजरायलले अन्तर्राष्ट्रिय आप्रवासन संठगन -आईओएम) मार्फत कामदार पठाउन नेपाल सरकार राजी भए तत्काल खुला गर्ने बताएको थियो । तर नेपाल सरकारले नेपालको प्रचलित कानुनअनुसार आईओएमलाई सरकारको सहकार्यको भूमिका दिने गरी नेपाली कामदारलाई पठाउने कार्य पुनः सुचारु गर्न आग्रह गरेको थियो । पछिल्लो तीन सातामा नेपाली कामदार पठाउने कार्य सुचारु गर्न श्रम र परराष्ट्र मन्त्रालयले संयुक्त रूपमा सघन कूटनीतिक पहल गरेका थिए । विशेष कूटनीतिक प्रयासको अनुगमन, रेखदेख र संयोजनमात्रै स्वीकार गर्न सक्ने जानकारी दिएको थियो । 'वैदेशिक रोजगारमा कामदार कि सरकारले पठाउँछ कि व्यवसायीले,' श्रम प्रवक्ता पूर्णचन्द्र भट्टराईले कान्तिपुरलाई भने, 'हामी यो प्रक्रियामा आईओएमको अनुगमन, रेखदेख र समन्वयकारी भूमिका चाहन्छौं ।'

फरेन इम्प्लोइमेन्ट एसोसियसनका अध्यक्ष प्रेम कटुवालले 'निश्चित प्रणाली' बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । 'दुवै देशको एजेन्टलाई व्यवस्थित गरी कामदारलाई अनिवार्य तालिम दिएर पठाउनुपर्छ,' उनले भने, 'इजरायल जाने लागत खर्च निकै पारदर्शी बनाइनुपर्छ ।'

इजरायल सरकारको यो निर्णयपछि व्यवसायीहरू डुबेको रकम फिर्ता हुने पक्षमा निकै खुसी छन् । '३५ वटा व्यवसायीका झन्डै ३५ करोड रुपैयाँ फसेको छ,' फरेन इम्प्लोइमेन्ट एसोसियसनका महासचिव प्रकाश कार्कीले भने, 'भिसा खरिद गर्न लागेको यो खर्च उठ्नेमा हामी खुुसी छौं ।' बन्द हुनुअघि सरकारले अनुगमन गर्न नसक्दा व्यवसायीले असीमित पैसा उठाएर बन्द गर्नुपरेको इजरायली दूतावासको भनाइ छ । त्यतिखेर एक कामदारसँग व्यवसायीले आठ सय डलरदेखि १२ हजार डलरसम्म लिएका थिए । कृषिमा काम गर्नेले भने १५ सयदेखि २ हजार डलरसम्म कमाउने गरेका छन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates