कोरियालीसँग बिहे गरेका नपाली चेली ‘दास’ जस्तै
Saturday, 20 August 2011 Posted by कृष्णपक्ष थापा



३ भदौ, काठमाडौँ । दक्षिण कोरियामा सयौं नेपाली चेली दासतापूर्ण जीवन बिताउँन बाध्य छन् । आधुनिक जीवनशैली, गगनचुम्बी सोचाइ र पैसाको मोहमा परेर कोरियाली नागरिकसँग विवाह गरेका नेपाली चेलीको कथाव्यथा कहाली लाग्दो छ ।

‘लोग्नेले दिनहुँ कुट्छ, भाषा पनि राम्ररी बुझिँदैन, पेटमा बच्चा छ, १६ महिनाको अर्कौ बच्चा छ, अब मर्नु कि के गर्नु ?’, कोरियास्थित नेपाली दूतावासमा हालै आयोजित कार्यक्रममा पर्वतकी २१ वर्षीया सीता पुनले दुःखेसो पोखिन् । उनी १८ महिनाअघि कोरियाली नागरिकसँग विवाह गरी सोल आएकी थिइन् । ‘उस (पति) ले हरेक दिन थुन्छ, कुट् छ र फोन गर्न पनि दिँदैन, दासतापूर्ण जीवन बिताउनु परेको छ’। उनले भनिन् । उनी अहिले आप्रवासी महिलाका लागि महिला (इमिग्रान्ट उमन फर उमन) नामक संस्थाको संरक्षणमा छिन् । ‘कोरियालीसँग विवाह गरेर कोरिया आउने नेपाली चेलीको संख्या बढेको छ, समस्या पनि थपिँदै गएका छन्’, आप्रवासी महिलाका लागि महिला संयोजक मञ्जु थापाले भनिन् । ‘सीता एउटा प्रतिनिधिपात्र मात्र हुन्, सयौं नेपाली चेली कोरियामा आधुनिक दासका रुपमा जीवन बिताउन बाध्य छन्’, थापाले भनिन् ‘विदेशी नागरिकसँग विवाह गर्दैमा सबैथोक पाइन्छ भनेर आउनु मुर्खतापूर्ण हो ।’

नेपालमा म्यारिज व्युरो खोलेर म्यानपावरको धन्दा गर्नेहरुलाई रोक लगाउन सके समस्यामा केही कमी आउने थापा बताउँछिन् । उनका अनुसार गत दुई तीन वर्षयता सरदर १५ देखि २० को संख्यामा नेपाली चेली विवाह गरी कोरिया प्रवेश गरेका छन् । हालसम्म करिब १ हजार २ सय महिला कोरियालीसँग विवाह गरी आएको पनि उनले बताइन् । भाषागत समस्याका कारण समस्या बढ्दै गएको एनआरएन कोरियाका कोषाध्यक्ष मदन केसीले बताए । नेपाली राजदूत कमलप्रसाद कोइरालाले कोरियाका विभिन्न्न संघसंस्थाले समस्या समाधानका लागि पहल गर्दै आएको जानकारी दिए । उनले दूतावासको क्षेत्राधिकारबाहिरका कतिपय मुद्धामा आफुहरुले केही गर्न नसक्ने पनि बताए । दूतावसका उपनियोग प्रमुख राजाराम बर्तौलाका अनुसार धेरैजसो नेपाली महिलाले कृषि क्षेत्रमा काम गर्ने कोरियालीसँग विवाह गरेका छन् । कोरियाली नागरिकले नेपाली महलिासँग विवाह गर्न नेपालका म्यारिज व्युरोलाई पाँचदेखि १० लाख रुपैयाँ बुझाउँछन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates