टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा श्रीलंका विजयी
साउन २२ एजेन्सी । अस्ट्रेलिया र श्रीलंकाबीचको दुई म्याचको ट्वान्टी–ट्वान्टी सिरिजको पहिलो खेलमा श्रीलंका विजयी भएको छ ।गएराति श्रीलंकाको पल्नेकाने क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाले अस्ट्रेलिया माथि ३५ रनको जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९८ रन बनायो ।
श्रीलंकाको रनस्कोर उकास्न ओपरन तिलकरत्ने दिलसानले नटआउट १ सय ४ रन बनाएका थिए । शतकिय पारि खेल्ने क्रममा दिलसानले १२ चौका र ४ छक्का प्रहार गरे । यस्तै कुमार साङ्गाकाराले पनि ३० रनको योगदान गरे । अस्ट्रेलियाको लागि ब्रेट लि, जोन हास्टीङ र सेन वाड्सनले एक–एक विकेट लिए ।
१ सय ९९ रनको लक्ष्य लिएर मैदान ओर्लिएको पाहुना टोली अस्ट्रेलियाले पूरै ओभरमा ८ विकेटको क्षतिमा १ सय ६३ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाको लागि डेभिड वार्नरले सबैभन्दा बढि ५३ रन बनाए ।
श्रीलंकाका दिलरुवान परेराले तीन विकेटको लागि जम्मा २६ रन खर्चदै कसिलो बलिङ गरेका थिए । जितसंगै घरेलु टोली श्रीलंकाले दुई म्याचको सिरिजमा १–० को अग्रता लिएको छ ।




