धावनमार्गमा कुद्छन् बाँदर पनि
अब्दुल्लाह मियाँ,
काठमाडौ, भाद्र ९ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा के-के देख्न पाइएला ? जहाज, हेलिकप्टर वा विमान चढ्ने/ओर्लने यात्रु ? तर अचेल त्यहाँ नयाँ कुरा देख्न पाइन्छ । त्यो हो, बाँदरका झुन्डहरू ओहोर-दोहोर ।
विमानस्थलमा बाँदरको बिगबिगी मच्चिनुको मुख्य कारण वरपर फोहोर र अनियन्त्रित रूपमा खानेकुरा फ्याँकिनु रहेकाले विशेषज्ञहरूले बताए । 'जहाँतहीं खानेकुरा उपलब्ध भएकाले बाँदर ओइरिएका हुन्×,' बुधबार स्थलगत निरीक्षणपछि बाँदर विशेषज्ञ मुकेशकुमार चालिसेले भने, 'विमानस्थल छेउमै खानेकुराको थुप्राे फ्याँकिएकाले आकषिर्त भएका रहेछन् ।'
केही वर्षयता पशुपतिक्षेत्रमा बाँदरको संख्या वृद्धि भएकाले त्यहाँ आहार कमी भई राम्रो खानाको खोजी क्रममा श्लेष्मान्तकका बाँदर अन्यत्र जान थालेको चालिसेको विश्लेषण छ । उनका अनुसार पशुपतिक्षेत्रमा ४ सय ५० को हाराहारीमा बाँदर छन् । तर खानेकुराको प्रचुरमात्रामा सुविधा नभएकाले धेरैजसो मानव बस्तीतिर पनि जान थालेका हुन् ।

विमानस्थलको रनवेसम्मै जतिबेला पनि बाँदरको हूल प्रवेश गर्दा विमान उडाउनै मुस्किल परेको भन्दै नागरिक उड्डयन प्राधिकरणले समाधानका लागि आग्रह गरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विशेषज्ञहरूको टोली बनाएर स्थलगत अध्ययन गरेको हो ।
महानिर्देशक कृष्णप्रसाद आचार्यका अनुसार विभागले काठमाडौंका डीएफओ मनबहादुर खड्काको संयोजकत्वमा विशेषज्ञ टोली खटाएको हो । 'सेनाका गण एवं विमान कम्पनीहरूले खुला स्थानमै बचेको खानेकुरा विसर्जन गर्दै आएकाले त्यही खान बाँदरहरू जाने गरेका हुन््,' संयोजक खड्काले भने, 'बाँदरको त्यो हूल अन्तर्राष्ट्रिय उडान हुने रनवेसम्मै पुग्दारहेछन् ।'
विमानस्थलभित्रका तीनवटा गण र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उडान कम्पनीले बचेको खानेकुराहरू रनवे नजिकैको खुला स्थानमा विसर्जन गर्दै आएका छन् । 'बाँदर त आए नै, बेलैमा सचेत नभए बाँदरमा भएका टीभी, लुतो, मलेरियालगायतका रोगको संक्रमण पनि बढ्न सक्छ,' उनले भने । त्रिभुवन विमानस्थलबाट दैनिक तीन सयदेखि चार सयसम्म राष्ट्रिय र ३५ अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् । विशेषज्ञ टोलीमा विभागका इकोलोजिस्ट डा. महेश्वर ढकाल, नागार्जुन/शिवपुरी निकुञ्जका चिफवार्डेन गोपालप्रकाश भट्टराई र चिडियाखानाका भेटेरिनेरी चिकित्सक थिए । टोलीले शुक्रबार विभागका महानिर्देशक तथा टोलीका अध्यक्ष कृष्णप्रसाद आचार्यलाई सुझावसहितको प्रतिवेदन बुझाउँदैछ । स्रोत : कान्तिपुर




