अमेरिकाको भर्जिनियामा 'तीज महोत्सव' भव्य रूपमा मनाइँदै
Tuesday, 23 August 2011 Posted by कृष्णपक्ष थापा

ॠषिराम खनाल, अमेरिका - कल्पना गर्नुस त गोरा, काला, गहुँ गोरा अमेरिकनदेखि सँसारभरबाट बसाई सराइ आएका करोडौं मानिस बस्न, हरेक दिन पचासौं हजार मानिस घुम्न आउने, सवैको सपनाको संसार भनिने अमेरिकामा बस्ने नेपाली महिलाहरुले रातो सारी लरक्क लर्काउँदै, छड्के तिलहरी, हातभरि चुरा, ओठभरि रातो लाली, श्रृंगारसहित तीजको गीतमा छमछमी नाच्दा अनि बारुले कम्मर भाँच्दा कस्तो होला? हजुर, यस्तै हुँदैछ यस पटक अमेरिकामा पनि। अमेरिकाको राजधानी वासिङ्गटन डि.सी.बाट २५ माइलको दुरीमा रहेको भर्जिनिया राज्यको पुरानो र ऐतिहासिक शहर मनाससमा यस पटक ऐतिहासिक रुपमा ‘तीज महोत्सव’ मनाइँदै छ। अन्तराष्ट्रिय कलाकार मञ्चको आयोजनामा यहि अगस्त २७ तारिखका दिन दिउँसो एक बजे देखि अन्तराष्ट्रिय कलाकार मञ्चको आयोजना र अमेरिकामा रहेका अन्य १३ वटा संस्थाहरु सह–आयोजक रहेको उक्त ‘तीज महोत्सव’ अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्माले उद्घाटन गर्दै हुनुहुन्छ। अगस्त २७ दिउसो १ बजे मनाससको स्टोनवाल मिडिल स्कूलको विशाल सभा कक्षमा।



उक्त ‘तीज महोत्सव’का सह–आयोजक संस्थाहरुमा नेपाल एजुकेशनल एण्ड कल्चरल सेन्टर (पशुपति बुद्ध मन्दिर), डि.सी. नेपाली समाज, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना), अन्तराष्ट्रिय नेपाली साहित्य समाज डि.सी., ह्यूरोन, हेम-सरिता पाठक प्रतिष्ठान, अमेरिका नेपाल महिला संघ, नेपाली महिला विश्वव्यापी सञ्जाल, नेपाली अमेरिकन महिला सहयोगी हातहरु, नासो, इन्टरनेशनल मिडिया हाउस, अमेरिका नेपाल चौपारी र थकाली समाज अमेरिका छन् अन्तराष्ट्रिय कलाकार मञ्चको साथमा।



“डि.सी., मेरिल्याण्ड, भर्जिनिया तीनवटा राज्यबाट नेपालीहरु सहभागी हुने उक्त ‘तीज महोत्सव’को तयारी लगभग पूरा भएको र यस पटकको ‘तीज महोत्सव’ ऐतिहासिक र भव्य हुँदैछ” भन्नुहुन्छ प्रमुख आयोजक संस्था अन्तराष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एवं लोक तथा दोहोरी गायक रामप्रसाद खनाल। अध्यक्ष खनालका अनुसार यस पटक महिला तीज नृत्य प्रतियोगिता, पुरुषहरुको पनि साथ र सहयोगका लागि पुरुष तीज नृत्य एवं बालबालिकाका लागि समेत छुट्टै प्रतियोगिता आयोजना गरिएको छ। कार्यक्रमको मुख्य आकर्षण महिलाहरुको तीज नृत्य प्रतियोगिता नै हुनेछ। यस पटक नेपाली चलचित्र जगतका चर्चित नायिका एवं लोकप्रिय नृत्यंगनाहरु सारंगा श्रेष्ठ, अनुपमा प्रसाईसहित अन्य थुप्रै अमेरिकामा रहेका कलाकारहरुदेखि अन्य सहभागी दिदीबहिनीसम्म सवैको जोडदार प्रस्तुती रहने र आएका सवै नाचेर जाने, सवैले पूर्ण मनोरञ्जन र असवर पाउने व्यवस्था गरिने खनालले बताउनु भयो।



सह–आयोजक संस्था अन्तराष्ट्रिय नेपाली साहित्य समाज डि.सी. च्याप्टरका अध्यक्ष प्रकाश नेपालले “यो ‘तीज महोत्सव’ अत्यन्त महत्वपूर्ण हुने र यसले अमेरिकामा नेपाली संस्कृतिको पहिचानमा मद्दत पुग्नुको साथै काममा व्यस्त र थकित दिदीबहिनी, दाजुभाईलाई एकै छिन दुःख विर्सेर नाचगान गर्न, रमाईलो गर्न, नेपालमा भए जसरी यो पर्व संझिन सहयोग पुग्ने” बताउनु भयो।



“हामी यसपटक बाल्टिमोरबाट पनि ब्यापक रुपमा सहभागी हुँदैछौं ‘तीज महोत्सव’ मा, यस कार्यक्रमले हाम्रो नेपाली समाजमा नौलो छाप छोड्ने छ” भन्नुहुन्छ बानाका महासचिव प्रभु थापा। डि.सी. नेपाली समाजका महासचिव कमल पोखरेल र अध्यक्ष अरुण रुपाखेतीले पनि “यो ‘तीज महोत्सव’लाई हर तरहले सफल पार्न आफ्नो संस्था र आफूहरु लागेको बताउनुहुन्छ। मञ्चका अध्यक्ष खनालका अनुसार कार्यक्रममा केही विशिष्ट योगदान पुर्याउने कलाकार तथा व्यक्तित्वहरु सारंगा श्रेष्ठ, अनुपमा प्रसाई, प्रेमराजा महत, हेम पाठक, राजदूत डा. शंकर शर्मालाई अभिनन्दन प्रदान गर्ने, अमेरिकामा रहेर नेपाली समुदायका लागि क्रियाशिल केही संचार माध्यमहरुलाई सम्मान, अन्य योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रम छ। यसका अलावा यस पटक तीज नृत्यमा प्रथम, दोश्रो, तेश्रो हुने, त्यसै गरी उत्कृष्ठ हुने प्रतियोगीलाई पदक, ट्रफी, प्रमाणपत्र सहित पुरस्कृत गरिने छ। खनाल भन्नुहुन्छ “यो पटक हामी सवैलाई नचाउछौं, सवैलाई यो कार्यक्रम हाम्रो हो भन्ने बनाउछौं, अमेरिकामा पनि तीजको महत्व दर्शाउदै समुदायलाई मनोरञ्जन दिन्छौं। जो कार्यक्रममा उपस्थित हुनुहुन्छ वहाँहरुका लागि यो ऐतिहासिक हुनेछ भने उपस्थित हुन नसक्नेले हामीले धेरै ‘मिस’ गर्यौं भनेर पछि पछुताउनु पर्नेछ, हामीलाई साथ दिनुहोस, कार्यक्रममा उपस्थित भई मनोरञ्जन हासिल गर्नुहोस।”



कार्यक्रममा सगरमाथा टेलिभिजन, नेपाल होराइजन्स, डि.सी. नेपाल, नेपाल मदर, विश्व परिक्रमा पाक्षिक, विश्व सन्देश पाक्षिक, निष्पक्ष राष्ट्रिय साप्ताहिक, एभरेष्ट टाइम्स पत्रिका, हाम्रो समाज, ग्लोब नेपाल डट कम, जनपुकार, विश्वन्यूज डक कमले मिडिया पार्टनरका रुपमा र यसका अलावा नेपाल मिडिया क्याफे र नेपाली पोष्ट आदिले पनि सुचना र समाचार सम्प्रेसण गर्दै ‘तीज महोत्सव’लाई सफल पार्न सहयोग गरिरहेका छन्। कार्यक्रमका बारेमा विस्तृत जानकारी सवै मिडियाहरुमा, त्यसैगरी हरेक दिनका अपडेट नेपालमदर डट कममा हेर्न सकिन्छ।
आयोजक अन्तराष्ट्रिय कलाकार मञ्च र सह–आयोजक सवै १३ वटा संस्थाहरुले सामूहिक रुपमा उक्त ‘तीज महोत्सव’मा सहभागी हुन अमेरिकाको डि.सी., मेरिल्याण्ड र भर्जिनियामा रहेका सवै नेपाली दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक निमन्त्रणा दिएका छन्। कार्यक्रममा प्रवेश निःशुल्क र कम पैसामा नेपाली खाना उपलब्ध गराउने ब्यवस्था गरिएको छ।




स्मरणीय कुरा के छ भने अमेरिकामा अन्तराष्ट्रिय कलाकार मञ्चले हरेक वर्ष यस प्रकारको तीज विशेष कार्यक्रम गर्दै आएको छ र अन्य संस्थाहरुले अन्तराष्ट्रिय कलाकार मञ्चलाई साथ दिँदै आएका छन्। नेपाली राजदूतावास वासिंगटन डि.सी.ले पनि मञ्चलाई आर्थिक रुपमा सहयोग गर्न नसके पनि अन्य प्रकारले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आईरहेको छ र यसपटक पनि राजदूताबासको सहयोग छ। राजदूत डा. शंकर शर्माले यस प्रकारका सांस्कृतिक, नेपाल र नेपालीका लागि गरिने कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates