प्रधानमन्त्री खनाल र राष्ट्रसंघका महासचिब बानबीच टेलिफोन वार्ता
Saturday, 6 August 2011 Posted by कृष्णपक्ष थापा

 साउन २१ काठमाडौं  । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालको शान्ति प्रक्रियाप्रति चासो राख्दै तोकिएको समयमा सहमतिमा पुग्न सुझाव दिनुभएको छ ।प्रधानमन्त्री झलनाथ खनाल र संयुक्त राष्ट्रसङ्घका महासचिव वानबीच हिजो बेलुका भएको टेलिफोन वार्तामा नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणका सम्बन्धमा भइरहेको कार्य प्रगतिप्रति चासो र जिज्ञासा व्यक्त गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

करिब आधा घन्टासम्म भएको टेलिफोन–वार्तामा महासचिव बानले नेपालको शान्ति प्रक्रिया सफल निष्कर्षमा टुङ्गिने अपेक्षाका साथ प्रधानमन्त्री खनालको नेतृत्वमा नै यस सुन्दर मुलुकमा दिगो शान्ति कायम हुने विश्वाससमेत प्रकट गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घ नेपाललाई आवश्यक जुनसुकै सहयोग गर्न तयार रहेको भन्दै बानले उन्नत समझदारीका साथ सफलतामा पुग्न शुभकामना दिनुभएको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री खनालले ‘शान्ति प्रक्रियाको सफलताका निम्ति आफूले निश्चित समयसीमा तोकेर प्रयत्न गरिरहेको भन्दै ठोस प्रगतिका लागि प्रमुख राजनीतिक दलका जिम्मेवार नेताहरूलाई अबिलम्ब निष्कर्षमा पुग्न आहवान गरेको बताउनुभयो ।

अन्यथा साउन २८ गते प्रधानमन्त्री पदबाट राजिनामा दिने सार्वजनिक गरिसकेको प्रधानमन्त्रीले महासचिव बानलाई जानकारी गराउनुभयो । प्रधानमन्त्री खनालले राष्ट्र सङ्घको निरन्तर सहयोग र चासोका निम्ति महासचिव बानलाई धन्यवाद समेत दिनुभएको थियो । प्रधानमन्त्री भएपछि खनाल र महासचिव बानबीच दोस्रोपटक टेलिफोन वार्ता भएको हो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates