प्रधानमन्त्रीमा पौडेल भन्दा भट्टराईको पल्लाभारी
Thursday, 25 August 2011 Posted by कृष्णपक्ष थापा



आफ्नो पक्षमा सहमति जुटाउन १० दिनसम्म यता र उता भौंतारिएका शेरबहादुर देउवालाई थाहा भयो की जतिसुकै बल गरेपनि कांग्रेस नेतृत्वमा सरकार गठन हुन गाह्रो छ ।

त्यसैले बहुमतीय प्रकृया सुरु भएपछि उहाँले सरक्क मैदान छाडेर विश्राम लिनुभयो । अब उहाँको ठाउँमा फेरि मैदान आइपुग्नुभएको छ, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल । पोहोर १७ पटकसम्म पराजित भएका पौडेलको टक्कर हुनेछ, धेरैले प्रधानमन्त्री बनेको हेर्न चाहेका माओवादीका बाबुराम भट्टराईसँग । पौडेललाई कांग्रेस र एमालेका केही नेताहरु बाहेक अरुको खासै समर्थन देखिंदैन । भट्टराईलाई माओवादीसहित एमालेका धेरै सभासद र अरु बामपन्थी दलहरुको समर्थन छ । मधेसी मोर्चाले पनि माओवादीलाई हरियो झण्डा देखाईसकेको छ । त्यसैले आइतबार संसदमा प्रधानमन्त्रीको चुनाव हुँदा बाबुराम भट्टराईको पक्षमा पल्लाभारी हुने सम्भावना बलियो छ ।

एमालेका धेरै सभासद माओवादी पक्षमा


त्यसो त प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल सहितका केही नेताहरुले बहुमतीय प्रकृयामा सरकार गठन भए सरकारमा सहभागी नहुने बताउँदै आएका छन् । तर सरकारमा सहभागी नभएपनि चुनावमा भने अनिवार्य भाग लिनुपर्ने नयाँ प्रावधान छ । त्यसो हुँदा एमालेले भट्टराई या पौडेलको पक्षमा मत दिनुपर्ने हुन्छ । कसलाई समर्थन गर्ने भनेर एमालेको प्रष्ट कुरा त आईसकेको छैन । तर, धेरै सभासद माओवादी उम्मेद्वार भट्टराईलाई मौका दिनुपर्ने बताउँछन् । ‘हामीले यसैलाई समर्थन गर्ने निर्णय गरिसकेका छैनौं’ सभासद रवीन्द्र अधिकारीले भन्नुभयो -’शान्ति प्रकृया टुंगोमा पुर्याउने विश्वासिलो आधार दिएमा माओवादीलाई समर्थन गर्नुपर्छ ।’

तर अहिले नै विश्वासिलो आधार तय भैनसकेको उहाँले बताउनुभयो । स्रोतका अनुसार एमालेका अधिकांश युवा नेताहरु माओवादीलाई समर्थन गर्नुपर्ने पक्षमा छन् । सरकारको नेतृत्व लिंदा शान्ति प्रकृया टुंग्याउनुपर्ने दबाब बढ्ने र त्यसो नगरे जनताको विश्वास पनि घट्ने हुँदा एक पटक माओवादीलाई मौका दिनुपर्ने एमालेका धेरै सभासदको ठम्याई छ । केही सभासदले यसबारे निर्णय गर्न पार्टी नेतृत्वलाई दबाब पनि दिईसकेका छन् । अहिलेको संक्रमणकालमा भट्टराई पनि असफल हुने भएकाले जनताको भ्रम हटाउन पनि एक पटक भट्टराईलाई पालो दिनुपर्ने एमालेका अर्काथरि नेताहरुको धारणा छ ।




मधेसी मोर्चाको पनि हरियो झण्डा


यसअघि माओवादी, कांग्रेस र एमाले नेतृत्वको सरकारमा बसेर सत्ताको स्वाद चाखिसकेका मधेसी मोर्चा यसपटक माओवादीतिर बढी ढल्केका छन् । कांग्रेसले आफूलाई समर्थन नगर्ने र एमालेको पनि भर नभएकाले माओवादी पनि मधेसी दलहरुसँग बढी आशावादी छ । यसअघि काँग्रेससँग नजिक भनेर चिनिने मधेसवादी दल पनि माओवादीतिर ढल्केका छन् । ‘समर्थन कसलाई गर्ने भन्ने कुरा पार्टीले निर्णय गर्न बाँकी छ’ मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक रामजनम चौधरीले भन्नुभयो-’भने जसरी शान्ति प्रकृया टुंग्याउने आधार बनेमा माओवादीलाई विश्वास गर्न सकिन्छ ।’ फोरम लोकतान्त्रिक यसअघि माओवादी नेतृत्वको सरकार बन्ने अवस्थामा पार्टी नै फुटाएर माधवकुमार नेपालको नेतृत्वमा सरकारमा सहभागी हुन गएको थियो । फोरम गणतान्त्रीक पनि माओवादीकै पक्षमा छ । फोरम गणतान्त्रिकका तर्फबाट संसदीय दलका उपनेता नन्दन दत्त भन्नुहुन्छ-’हाम्रो पार्टीले माओवादीलाई नै समर्थन गर्ने सम्भावना बढी छ । तर समर्थन भएमा शर्त सहित हुन्छ ।’

एक मधेस प्रदेश र सेनामा मधेसीको समुहगत प्रवेशको माग उठाइरहेका मधेशवादी दल ती कुरा माओवादीबाटै पूरा हुनेमा आशावादी छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा अहिले नरहेको उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम यसअघि देखि नै माओवादीकै पक्षमा उभिंदै आएको छ । सभासद र नेता कार्यकर्ताको दबाबमा एकातिर एमाले बिस्तारै माओबादी तिर ढल्किएको संकेत देखिनु अनि मधेसवादी पार्टीको पनि माओवादीलाई समर्थन गर्ने चाहना बढ्नुले पौडेल भन्दा भट्टराईको सम्भावना बलियो हुँदै गएको छ ।

कांग्रेसको झिनो आश


बाबुराम भट्टराईको सम्भावना बनियो छ भनेर जान्दा जान्दै पनि संसदीय दलका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको कांग्रेसले माओवादी इतरको गठनवन्धन बन्ने आश गरेको छ । आफ्नो पक्षमा रहेको तमलोपा र फोरम लोकतान्त्रिकका कारण सिंङ्गो मधेसी मोर्चा आफूतिर आए एमालेलाई साथ लिएर सरकार बनाउन सकिने उसको बुझाई छ । ‘पौडेलको भन्दा बाबुरामको सम्भावना केही बिलियो छ’ कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भन्नुभयो-’तर, तमलोपा र फोरम लोकतान्त्रिकका कारण सिंङ्गो मधेसी मोर्चाले समर्थन गर्न सक्छ भन्ने हाम्रो विश्वास हो ।’

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates