सरकार-अन्ना टीम वार्ता विफल
Wednesday, 24 August 2011 Posted by कृष्णपक्ष थापा

नयाँ दिल्ली, भाद्र ८ - भ्रष्टाचारविरोधी सशक्त विधेयकलाई लिएर गहिरिएको संकट समाधानका लागि बुधवार भारतमा भएका उच्चस्तरीय प्रयास विफल भएका छन् । अपरान्ह प्रधानमन्त्री निवास सेभेन रेसकोर्स रोडमा भएको अन्तरपार्टी बैठक ठोस निष्कर्ष विना सकिएको छ ।

भारतीय जनता पार्टी, जनता दल युनाईटेड तथा वाम पार्टीहरुले सरकारी लोकपाल विधेयक संसदबाट फिर्ता गर्न आव्हान गरेका छन् । सत्तापक्षीय दलहरुले भने उक्त माग अस्वीकार गरेका छन् । सशक्त भ्रष्टाचार कानूनको मागसहित आमरण अनसनमा उत्रिएका अन्ना हजारे र उनका समर्थकहरुले प्रस्ताव गरेको मस्यौदाका अधिकांश विषय समेटी संशोधित विधेयक संसद समक्ष पेश गर्न भने सरकार तयार रहेको ती दलले बताएका छन् । सत्तारुढ र विपक्षी दलहरुबीच सहमति जुट्न नसकेपनि उनीहरुले बैठकको अन्त्यमा संयुक्त अपील जारी गरी हजारे पक्षले प्रस्ताव गरेको जनलोकपाल विधेयकका विषयलाई समेत समेटी सशक्त लोकपाल विधेयक ल्याउन आफूहरु तयार रहेको उल्लेख गरेका छन् । यसैगरी उनीहरुले हजारेको स्वास्थ्यप्रति गम्भीर चिन्ता समेत जनाएका छन् ।

पार्टीहरुबीच छलफल सकिएपछि सरकारले हजारे पक्षसंग तेस्रो चरणको वार्ता थालेको छ । यो वार्ता तयार पार्दासम्म वित्तीयमन्त्री प्रणव मुखर्जी र हजारे पक्षका प्रमुख सदस्य अरविन्द केजरीवाल, प्रशान्त भूषण तथा किरण बेदीबीच वार्ता भइरहेको छ । यसअघि उनीहरुबीच मंगलवार राति र बुधवार बिहान पनि वार्ता भएको थियो ।

वार्ता चलिरहंदा भारतीय सञ्चारमाध्यमहरुले अधिकांश विषयमा सहमति जुटिसकेको बताएका छन् । प्रधानमन्त्रीलाई प्रस्तावित लोकपाल मातहत ल्याउने, केन्दि्रय जाँच ब्युरो सीबीआईको भ्रष्टाचार छानविन शाखालाई लोकपालमा समाहित गर्ने लगा यतका जटील मुद्दामा लचिलो हुन सरकार तयार रहेको भारतीय टेलिभिजन च्यानल एनडीटीभीले जनाएको छ । अगष्ट ३० भित्र सशक्त लोकपाल विधेयक पारित गर्नुपर्ने हजारे पक्षको माग भने सरकारले अस्वीकार गरेको छ । समयावधि तोकेर संसदमा दबाब दिनु नहुने तथा संसदीय प्रक्रिया मिचेर विधेयक पारित गर्न नसकिने भन्दै सरकारले हजारे पक्षको मागलाई अव्यवहारिक भनेको छ ।

वार्ता शुरु हुनुअघि आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै हजारेका प्रमुख सहयोगी केजरीवालले सरकारले संसदसमक्ष जनलोकपाल विधेयक पेश गरे हजारेले अनसन तोड्ने बताएका छन् ।

अनसन नवौ दिनमा पुग्दा हजारेको स्वास्थ्य बिग्रदैं गएको छ । उनको स्वास्थ्यलाई लिएर सर्वत्र चिन्ता व्यक्त भइरहेपनि हजारेले भने आफू ठीक रहेको र माग पूरा नभइञ्जेल पछि नहट्ने दृढता व्यक्त गरेका छन् । यसअघि मंगलवार चिकित्सकहरुले हजारेलाई अस्पताल भर्ना गर्नुपर्ने सुझाव दिएपनि उनले अस्वीकार गरेका थिए । सलाइन चढाउन गरिएको आग्रह समेत उनले अस्वीकार गरेका थिए । कान्तिपुर

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates