१४ बुँदे माग अस्पताल प्रशासनलाई बुझाएर अस्पतालको सम्पूर्ण सेवा बन्द
Friday, 16 September 2011 Posted by कृष्णपक्ष थापा

विभिन्न १४ बुँदे माग राख्दै स्वास्थ्यकर्मीले हडताल गरेपछि रुकुमको चौरजहारी मिसन अस्पतालको सेवा दुई दिनदेखि ठप्प भएको छ। स्वास्थ्यकर्मी तथा कर्मचारीले तलव वृद्धि हुनुपर्ने, कर्मचारी युनियन गठन गर्नुपर्ने, कर्मचारीको क्षेत्रअधिकार तोक्नुपर्ने लगायत १४ बुँदे माग अस्पताल प्रशासनलाई बुझाएर अस्पतालको सम्पूर्ण सेवा बन्द गरेका हुन्। ४० शैयाको चौरजहारी मिसन अस्पतालमा उपचारका लागि भर्ना भएका कुनै पनि बिरामीले सेवा पाउन सकेका छैनन्। कर्मचारी विवादका कारण बिरामी सेवा नपाएरै फिर्ता हुन थालेका छन् भने नयाँ बिरामी भर्ना हुन पाएका छैनन्। अस्पतालका ४२ कर्मचारीमा २७ जना आन्दोलनमा उत्रेका छन्।

१५ दिने अल्टिमेटम दिएका कर्मचारी र स्वास्थ्यकर्मीले माग पूरा नभएपछि बुधबारदेखि आन्दोलन सुरु गरेका हुन्। अस्पताल प्रशासनले कसैलाई फकाउने र केहीलाई धम्की दिएरै आन्दोलन फिर्ता लिन भनेको आन्दोलनरत स्वास्थ्यकर्मी राजु शर्माले बताए। आन्दोलनरत कर्मचारीले अस्पतालले सेवाको नाममा धर्मको प्रचार गरेको आरोप लगाएका छन्। सेवा भन्दा धर्मप्रचारमा लागेकाले भ्रष्टाचार र अनियमितता हुने गरेको उनीहरुको भनाइ छ।




यी सबै मागहरुको बेवास्ता गरिएकाले कर्मचारी संगठित भई आवाज उठाइरहेको अस्पतालका क्यासियर घुर्क बुढाथोकीले जनाए। आन्दोलनरत कर्मचारीका अनुसार अस्पताल प्रशासनले पुराना कर्मचारीहरुलाई बढी काममा खटाउने, २ वर्षदेखि तलव वृद्धि नगरेको, वाहिर जिल्लावाट विना प्रतिस्पर्धा कर्मचारी भर्ना गरेकाले आन्दोलन भएको हो। अस्पतालका प्रशासक कपिल शर्माले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा युनियन खोल्न नमिल्ने बताए।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates