वैद्य समूहले सुरु गरेको गुटगत भेला दाहाल र भट्टराईले रोक्ने प्रयास गरे
Wednesday, 14 September 2011 Posted by कृष्णपक्ष थापा

गुटगट भेला र प्रशिक्षण गरेरै 'अन्र्तसंघर्ष' व्यवस्थित गर्ने दाबी गर्दै आएको माओवादीका गुट एक अर्काविरुद्ध सार्वजनिक प्रतिरोधमै उत्रन थालेको छ। लडाकु कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाएपछि उपाध्यक्ष मोहन वैद्य समूहले सुरु गरेको गुटगत भेला र प्रशिक्षण संस्थापन समूह (अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई समूहसमेत)ले रोक्ने प्रयास गरेका छन्। पार्टी सचिव सीपी गजुरेलको नेतृत्वमा केन्द्रीय नेताको अगुवाइमा भएका प्रशिक्षण रोक्न संस्थापन समूह सार्वजनिक प्रतिरोधमै उत्रिएको छ। यसले केन्द्रमामात्रै नभइ राज्य समिति र जिल्ला समितिमा पनि नेताहरुबीच 'आँखा तर्ने' स्थिति देखिएको छ। मंगलबार इलाममा भएको वैद्य समूहको गुट भेला रोक्न संस्थापन पक्षले प्रतिरोध गरेको थियो। सचिव गजुरेलको प्रशिक्षण रोक्न संस्थापन समूहकै नेताहरु बुधबार सुनसरीमा पनि कस्सिए।

बुधबार सुनसरीमा संस्थापन समूहले गुट भेलालाई सम्वोधन गर्न धरान जान लागेका सचिव गजुरेललाई इटहरीमै रोक्ने प्रयास गरे। उनीहरुले नेताको गाडीमै बसेर प्रदर्शनमात्र गरेनन्, कालो झण्डा नै देखाए। प्रदर्शन र विरोध उग्र बन्दै गएपछि पइलाका प्रहरी कार्यालय इटहरीले माओवादीकै कार्यकर्ताबाट जोगाउँदै धरान पुर्‍याएको थियो। धरानमा गजुरेलले विरोध सामना गर्नुपर्‍यो।

गजुरेल र पोलिटव्युरो सदस्य हितमान शाक्यले बुधबार धरानमा किरात तथा कोचिला र सुनसरी जिल्ला राज्यस्तरमा आफू निकटका कार्यकर्ताको मात्र भेला गरेपछि संस्थापन समूह (जिल्ला नेतृत्व) विरोधमा उत्रियो।
जातिय मोर्चा लिम्बुवानराष्ट्रिय मुक्ति मोर्चाका महासचिव समेत रहेका माओवादी सुनसरी ईञ्चार्ज मुक्साङहाङ मेन्याङवोले गजुरेलका गतिविधिले पार्टीमा विभाजन आउने भन्दै त्यस्ता कार्य वन्द गर्न चेतावनी दिए। गजुरेल र शाक्यले पार्टी नीति विपरीत आफ्नो गुटको मात्र भेला गरेर जनविद्रोहवाट मात्र शान्ति र संविधान संम्भव रहेको भन्दै त्यस्को लागि तयार रहन निर्देशन दिएपछि संस्थापन समूहले छुट्टै पत्रकार सम्मेलन गर्‍यो।

संस्थापन समूहले गजुरेलले पार्टीको केन्द्रीय तथा स्थायी समितको निर्णय विपरीत आफू निकट गुटलाई भेला गराई प्रशिक्षण दिएकोमा कारबाहीको माग गरेको छ। उनीहरुले पत्रकार सम्मेलनमा संगठनले यस्ता क्रियाकलाप गर्दै गए त्यसको विरुद्ध उत्रने समेत चेतावनी दिएका थिए।यसअघिको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकले साँचो प्रकरण टुंगो नलगाएसम्म सार्वजनिक टिका टिप्पणी र कार्यक्रम नगर्ने निर्णय गरेको थियो। संस्थापनको विरोध बाबजुत संख्यात्मकरुपले बढी वैद्य समूहले गुट भेला गराएरै छाडे। प्रशिक्षणमा गजुरेलले नेतृत्व सुधारवादी हुँदै गएकाले जनविद्रोहका लागि तयार हुने निर्देशन दिएको एक राज्यसमिति सदस्यले जानकारी दिए।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates