मुखियाविरुद्ध बोल्दा सात हजार जरिवाना
दिलीप पौडेल, बाग्लुङ, असोज १२,
मुखियाको निर्णयविरुद्ध बोलेकोमा एक महिनादेखि सदरमुकाम विस्थापित एक महिला मंगलबार सात हजार रुपैयाँ जरिवाना तिरेर गाउँ फर्केकी छन्। दलका प्रतिनिधि, सभासद, जिल्ला प्रशासन र स्थानीय बुद्धिजीवीको रोहवरमा कागवेनी- २ घाकारजुङकी ३८ वर्षीया छिरिङपाल्जुम गुरुङलाई ७ हजार रुपैयाँ जरिवाना तिराइएको हो। कानुनी राज्यको उपहास गर्दै गरिएको यस्तो निर्णयमा गुरुङलाई 'आइन्दा मुखियाविरुद्ध नबोल्ने कायलनामा' पनि गराइएको छ। गाउँका मुखिया सोनम ओङदी गुरुङले स्थानीय माछापुच्छे्र प्राथमिक विद्यालय घार्काजुङका चार शिक्षक सरुवा गरेको र पछि दुईलाई फिर्ता गरेको विषयमा गुरुङले विद्यालयको अभिभावक दिवसमा मुखियाको विरोध गरेकी थिइन्। उनले 'कि चारै शिक्षक सरुवा गर्नुपर्यो, दुईको मात्र फिर्ता गर्ने मुखियाको निर्णय जायज छैन' भनेर विरोध जनाएकी थिइन्। यही आरोपमा उनलाई समाजले गाउँनिकाला गरेको थियो।
विस्थापित भएर एक महिनादेखि सदरमुकाम रहँदै आएकी गुरुङलाई गाउँ फर्काउन मंगलबार प्रशासनको रोहवरमा 'पञ्चायत' बसेको थियो। जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि महेन्द्रबहादुर थकाली, मुस्ताङका सभासद चन्द्रबहादुर गुरुङ, माओवादी जिल्ला इन्चार्ज कृष्णप्रसाद पराजुली, एमाले अध्यक्ष चन्द्रमोहन गौचन साक्षी बसेर ती महिलालाई जरिवाना तिराइएको हो। आफूविरुद्ध बोलेबापत मुखियाले ती महिलासँग जरिवाना असुल्न खोजेकोमा उनले तिर्न इन्कार गरेपछि गाउँनिकाला गरिदिएका थिए। परिवारैलाई सामाजिक बहिस्कार गरेका मुखियाले उनको घरमा जानेलाई १५ हजार तिराउने निर्णय गरेका थिए।
विरोध गरकै निहुँमा जरिवाना तिराउने निर्णय 'मानवअधिकारविरोधी' भन्दै अधिकारवादीले आपत्ति जनाएका छन्। 'चित्त नबुझेर विरोध जनाउँदा सामाजिक बहिस्कार हुनु र जरिवाना तिराउनु मानवअधिकारविरोधी निर्णय हो,' इन्सेक प्रतिनिधि शर्मिला गुरुङले भनिन्, 'यस्ता गम्भीर मुद्दामा राज्य संवेदनशील बन्नुपर्छ।'घटना कानुनी दृष्टिले गलत रहेको जनाउँदै डिएसपी मधुसुदन लुइँटेलले त्यसबारे कुनै उजुरी नआएको जानकारी दिए। 'गलत निर्णय हो, तर उजुरी आएको छैन,' उनले भने, 'तर दलहरू बसेर मिलाएको विषयमा हामीले बोल्न मिलेन।'
विवाद मिलाउन सहजकर्ता बनेका सभासद गुरुङले स्थानीय परम्पराअनुसार छेपा (जरिवाना) तिरेको बताउँदै घटना बाहिर नल्याउन आग्रह गरे। 'समुदायको परम्पराअनुसार महिलाले छेपा तिरेकी हुन्,' गुरुङले भने, 'घटनालाई बाहिर ल्याउँदा सामाजिक परम्परा बिग्रन्छ।' गलत भन्दाभन्दै मुखियाले जरिवाना तिराएको माओवादी इन्चार्ज पराजुलीले बताए। 'बोल्न पाउने अधिकार प्रयोग गरेकै कारण बहिस्कृत हुने अवस्था दुःखदायी हो,' पराजुलीले भने, 'हाम्रो पार्टीको समर्थन छैन भन्दा पनि मिलेर बस्न परम्परा धान्ने भन्दै रकम तिराए।'प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले भने सभासद, राजनीतिक दलका प्रमुखको रोवहरमा घटना मिलाएकाले यसबारे आफूलाई धेरै जानकारी नभएको बताए।
शिक्षक सरुवा प्रकरणमा चित्त नबुझेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले समेत राजीनामा दिएका थिए। सुरुमा चार शिक्षक सरुवा निर्णय सुनाएका मुखियाले पछि शिक्षक गणेशबहादुर क्षेत्री र गीता क्षेत्रीको मात्र पाङ्ले प्रावि सरुवा गरेका थिए। जिल्ला शिक्षा कार्यालयले भने स्थानीय र शिक्षकको मागअनुसार सरुवा गरेको जनाएको छ।




