एनआरएन युकेका नवनिर्वाचित पदाधिकारीद्धारा पदभार ग्रहण
Monday, 26 September 2011 Posted by कृष्णपक्ष थापा

९ असोज, लण्डन । गैर आवासिय नेपाली संघ एनआरएन युकेका नवनिर्वाचित पदाधिकारीहरुले आइतवार पदभार ग्रहण गरेका छन् । वेलायतको रेडिङस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा आयोजित एक कार्यक्रममा उनीहरुले पदभार ग्रहण गरेका हुन् । एनआरएन युकेका नवनिर्वाचित अध्यक्ष कुल आचार्यको अध्यक्षतामा बसेको बैठक ग्रेटर रेडिङ नेप्लीज कम्युनीटी एशोसियसनले आयोजना गरेको थियो । बैठकमा नेपालमा हुन गइरहेको एनआरएनको पांचौं विश्व सम्मेलन, तथा एन आर एन युकेका भावी कार्ययोजना सम्बन्धि छलफल भएको थियो ।

सो अवसरमा नयां कार्यसमितिले विशेष सम्मानका साथ पुरनो कार्यसमितिलाई बिदाइ गरेको छ । उनीहरुलाई एन आर एन युकेका अध्यक्ष कुल आचार्य तथा संरक्षक प्राध्यापक डा. सुर्य प्रसाद सुवेदीले प्रशंसापत्रका साथै खादा लगाई सम्मानका साथ बिदाइ गरेका हुन् । यसरी सम्मानित हुनेहरुमा निवर्तमान अध्यक्ष सुर्य गुरुङ, कोअर्डिनेटर भक्त गुरुङ, सल्लाहकार डम्मर घले, डा. चन्द्र बहादुर गुरुङ, पदम सिंखडा, लक्ष्य गुरुङ, निर्वाचन समितिका डा. राघब धिताल, डा. हेमराज शर्मा, डा. कृष्ण अधिकारी, सल्लाहकार एवं नेपाली टिभीका सिइओ मोहन गुरुङ, पशुपति भण्डारी, शेर सुनुवार, युरोप कोअर्डिनेटर हितमान गुरुङ, वर्तमान आइसीसी सदस्यद्धय विश्व आदर्श पण्डित र शंकर भण्डारी, सल्लाहकार शिवजी श्रेष्ठ लगायत रहेका थिए ।

सो अवसरमा बोल्दै संरक्षक डा. सुबेदीले एन आर एन सम्पुर्ण नेपालीहरुको साझा संस्थाको रुपमा विकास भएको बताए । उनले स्थापना कालदेखि नै बेलायतको एन आर एनले उलेखनीय फड्को मार्दै आइरहेको स्मरण गरे । दोहोरो नागरिकताको सवालमा एन आर एन युकेले अत्यान्त पहल कदमी गरेकोमा उनले प्रशंसा गरेका थिए । संयोजक रामशरण सिंखडाद्धारा सञ्चालित कार्यक्रममा निवर्तमान अध्यक्ष सुर्य गुरुङले आफ्नो दुई बर्षे कार्यकालमा केहि उल्लेखनीय काम भएको स्मरण गरे । बेलायत र नेपालमात्र होइन विश्वभर एन आर एन युकेको छवीलाई उच्च राख्न आफ्नो कार्यसमितिले हरसंभव प्रयास गरेको गुरुङले बताए ।

कार्यक्रममा पुर्व अध्यक्ष तथा सल्लाहकार रिटायर्ड मेजर डम्मर घले, निवर्तमान संयोजक भक्त गुरुङ लगायतले मन्तव्य राखेका थिए । निवर्तमान अध्यक्ष सुर्य गुरुङ, संयोजक भक्त गुरुङ तथा कोषाध्यक्ष थर्क सेनले नयां कार्यसमितिलाई पुरानो कार्यसमतिका कागजातहरु हस्तान्तरण गरेका थिए । सो अवसरमा श्रव्य दृश्य तथा छापा पत्रकारीतामार्फत बेलायतस्थित नेपाली समुदायको समाचारलाई प्राथमिकताका साथ सम्प्रेसण गरेबापत पत्रकार धर्मराज अधिकारीलाई सम्मान गरीएको थियो । अधिकारीलाई एनआरएन संरक्षक प्राध्यापक डा. सुर्यप्रसाद सुवेदीले खादा लगाई सम्मान गरेका हुन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates