प्रधानमन्त्री भट्टराई दिल्लीमा
Thursday, 20 October 2011 Posted by कृष्णपक्ष थापा

काठमाडौं, कात्तिक ३ — प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको चार दिने औपचारिक भ्रमणका क्रममा दिल्ली पुग्नुभएको छ । सात मन्त्री र आठ सचिव सहित ३७ सदस्यीय टोलीको नेतृत्व गर्दै भट्टराई भारत जानुभएको हो । नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय अधिकारीले स्वागत गरेका छन् । प्रधानमन्त्री होटल लिला प्यालेसमा बस्नुभएको छ ।

भ्रमणमा प्रधानमन्त्री पत्नी हिसिला यमी, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश, अर्थमन्त्री वर्षमान पुन, भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठी, सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता, उद्योगमन्त्री अनिल झा, सिंचाईमन्त्री महेन्द्रप्रसाद यादव, स्वास्थ्यमन्त्री राजेन्द्र महतो लगायत छन् । शुक्रबार देखि औपचारिक भेटवार्ता शुरु गर्ने प्रधानमन्त्री भट्टराईले जबहरलाल नेहरु विश्वविद्यालयमा आफूसँगै पढेका साथीहरुसँग होटल लिला प्यालेसमा नै आज भेटघाट गर्ने कार्यक्रम छ ।

दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसित कुरा गर्दै उहाँले आफ्नो भारत भ्रमण सद्भाव भ्रमण मात्र रहेको प्रतिकृया दिनुभयो । भ्रमणका क्रममा भारतसँग नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ता विरोधी कुनै पनि सन्धि सम्झौता नहुने उहाँले यसअघि नै स्पष्ट पारिसक्नु भएको छ । भारतमा रहँदा प्रधानमन्त्री भट्टराईले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेता लगायतसित भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । चार दिने भ्रमण पूरा गरी प्रधानमन्त्री कात्तिक ६ गते स्वदेश फर्कनुहुनेछ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates