मलेसियामा ३ नेपाली महिला अलपत्र
Thursday, 20 October 2011 Posted by कृष्णपक्ष थापा

रामचन्द्र गिरी, क्वालालम्पुर, कार्तिक ३,

सम्झौता अनुसार तलब–सुविधा माग गर्दा कम्पनीले कामबाट निकालि दिएपछि यहाँको एक कम्पनीमा कार्यरत ३ नेपाली महिला अलपत्र परेका छन् । मलाक्कास्थित एक धागो (इलास्टिक) कम्पनीले कामबाट निकालि दिएपछि गाउँखर्क–६ नुवाकोटकी लाक्पा डोल्मा तामाङ, सोही स्थानकी सिर्सानी तामाङ र सिर्जना तामाङ एक महिना अघिदेखि अलपत्र परेका हुन् ।अलपत्र उनीहरु हाल यहाँस्थित एक गाउँले आफन्तकहाँ सेल्टर लिइरहेका छन् । समस्या समाधानका लागि यहाँको एक सामाजिक संस्थाको सम्पर्कमा आएका उनीहरुलाई सो संस्थाकै सहयोगमा तीन साताअघि दुतावास पुर्याइएको थियो । दुतावासले सम्बन्धित पक्षसँग बुझेर समस्या सुल्झाउने आश्वासन दिएपनि तीनसाता भईसक्दा समेत समस्या समाधानमा खासै चासो नदिएको गुनासो पीडितको छ ।

स्रोतका अनुसार, पीडितहरु पूरानो कम्पनीमा नफर्कने तथा सकभर अर्को कुनै कम्पनीमा काम गर्न चाहेको र त्यो पनि सम्भव नभए घर फर्कने अडानका कारण समस्या समाधानका लागि समय लागेको बताइएको छ । बैदेशिक रोजगारका क्रममा पाँच महिनाअघि काठमाडौंस्थित आर. बि. रिक्रुटमेन्ट प्रा लि. मार्फत ‘कम्प्युटरको पार्टपूर्जा प्याकिंङ गर्ने काम’मा भन्दै पठाइएका उनीहरुले मलक्कास्थित एक धागो कम्पनीमा काम गर्नु परेपछि आफूहरु ठगिएको थाहा पाएको बताए । ‘कम्प्युटरको पार्टपूर्जा प्याकिङ गर्ने काम’ भन्दै धागो कम्पनीमा पठाएर मेनपावर कम्पनीले आफूहरुलाई झुक्याएको पनि पीडितहरुले बताए । पीडितमध्येकी एक लाक्पा डोल्माले भनिन् ‘हामीलाई मेनपावरले कम्प्युटरको पार्टपूर्जाहरु प्याकिङ गर्ने काम हो भनेर पठायो तर यहाँ आएपछि पो थाहा पाइयो । हामीलाई झुक्याएर धागो कम्पनीमा पठाइएको रहेछ ।’ नेपालमा सम्झौंता भए अनुसारको काम तथा तलब–सुविधा नभएको पाएपछि सुरुकै महिनादेखि कम्पनी मालिक र स्थानीय एजेन्टलाई भन्दै आएको तर कम्पनीपक्षले वेवास्ता गरेको पीडितहरुले बताए ।
कम्पनी र मेनपावर कम्पनीसँग सम्झौता पत्र अनुसार सेवा सुविधा दिन आग्रह गर्दा कम्पनी एजेन्टले ज्यान मार्ने सम्मको धम्की दिँदै कामबाट निकालेको पीडितको भनाइ छ । सम्झौता पत्र अनुसार उनीहरुले मासिक ७ सय ५० रिंगेट पाउने उल्लेख छ । मेनपावर कम्पनीले प्रतिव्यक्ति ६० हजार रुपैयाँ लिई मलेसिया पुगेपछि तलबबाटै प्रतिव्यक्ति ११ सय रिंगेटका दरले कटौती गरेर लिनेगरी (डिडक्सन पेपर) पठाएको कारण यहाँ कम्पनीले प्रतिव्यक्ति २ सय रिंगेटका दरले तलबबाट पैसा कटौती गर्दै आएको थियो । ‘हामीले नेपालमा मेनपावर कम्पनीलाई प्रतिव्यक्ति नेपाली ६० हजार रुपैयाँ बुझायौं र बाँकी ११ सय रिंगेट मलेसिया आएपछि तलबबाटै कटाउने सहमति भएको थियो ।’ डोल्माले भनिन् ‘तर यहाँ आएपछि नेपालमा सम्झौता गरिएजस्तो केही पनि भएन, त्यसपछि हामीले कम्पनी मालिक र मेनपावरलाई पैसा काट्ने भए सम्झौता अनुसार काम दिन भन्यौं । तर, हामीलाई उल्टै कामबाट निकालियो ।’ कम्पनीसँग सेप्टेम्बर महिनाको तलब लिन बाँकी रहेको पनि उनीहरुले बताए ।

पीडितहरु नेपालमा सम्झौता भए अनुसारको तलब–सुविधासहित कामको प्रबन्ध नमिले घर फर्कने अडानमै छन् । उनीहरुले नेपालमा सम्झौता भएजस्तो काम नहुने भए घरफिर्तीको लागि सहयोग गरिदिन सबैसित आग्रहसमेत गरेका छन् । पीडित मध्येकी एक लाक्पाले भनिन् ‘नेपालमा भने जस्तै अर्को ठाउँमा काम मिलाइदिने भए गर्छौं, नत्र घर फर्कन चाहन्छौं ।’ स्रोतका अनुसार, पीडितहरुलाई मलेसिया पठाउनुपूर्व श्रम विभागबाट एसएमटी टेक्नोलोजी एसडिएन विएचडी कम्पनीको नाममा पूर्वस्विकृति लिइएको तर रोजगार सम्झौतापत्रमा भने पान्नु इलास्टिक इण्डस्ट्रिज कम्पनीको नाममा सम्भौता पत्र बनाई पठाइएको खुलेको छ । पछिल्ला बर्षहरुमा मलेसिया आउने बहुसंख्यक नेपाली कामदारहरु दोहोरो सम्झौतापत्रको चर्को मारमा परेका छन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates