अमेरिकाद्धारा सातबुँदे सहमतिको स्वागत
Wednesday, 2 November 2011 Posted by कृष्णपक्ष थापा

१६ कात्तिक, काठमाडौं । अमेरिकाले शान्ति प्रक्रिया, संविधान निर्माण र सत्ता साझेदारीबारे दलहरुबीच मंगलबार भएको सातबुँदे सहमतिको स्वागत गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता भिक्टोरिया न्युल्यान्डले विज्ञप्ती जारी गरि दलहरुबीच भएको ७ बुँदे सहमतिलाई ऐतिहासिक भन्नु भएको छ । विज्ञप्तीमा भनिएको छ-’पूर्व माओवादी लडाकुहरूको समायोजन र पुनःस्थापना, संविधानको मस्यौदा नोभेम्बर ३० को म्यादभित्र पूरा गर्ने सहमति र अन्य बाँकी महत्वपूर्ण मुद्दाहरूमा भएका सहमतिलगायत विस्तृत शान्ति सम्झौताको कार्यान्वयनका लागि नेपाली राजनीतिक दलहरूद्वारा गरिएको ऐतिहासिक सहमतिहरूको हामी स्वागत गर्दछौं ।’

दलहरुबीच भएको सहमतिलाई नेपालमा लोकतान्त्रिक, स्थिर, र सम्मृद्ध भविष्य सुनिश्चित गर्नेतर्फ यो एक अपरिहार्य कदम भन्दै अमेरिकाले भनेको छ-’यस सहमतिमा पुग्नका लागि सबै दलले प्रदर्शन गरेको राजनीतिक नेतृत्वको हामी कदर गर्दछौं ।’

दलहरुबीच भएको सहमतिलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिएको अमेरिकाले जारी शान्ति प्रक्रियामा यथोचित सहयोग पुर्‍याउने प्रतिबद्धता समेत जनाएको छ ।

यसअघि सहमति भएको केहीबेरमा नै अमेरिकी राजदूत स्कट एच डेलिसीले विज्ञप्ती जारी गरि दलहरुबीच भएको सहमतिको स्वागत गर्नु भएको थियो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates