२५ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीको संस्थापन र बैद्य पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेला स्थगित भएको छ । माओवादी पदाधिकारीहरुको बुधबार विहान बसेको बैठकले संस्थापन पक्षले २९ गते बोलाएको र उपाध्यक्ष मोहन बैद्य किरण पक्षले २८ गते बोलाएको कार्यकर्ता प्रशिक्षण भेला स्थगित गर्दै कार्तिक १७ गते केन्द्रीय समिति वैठक बोलाएको छ ।
संस्थापन पक्षले पार्टीको आधिकारिक लाइन शान्ति र संविधानबारे जानकारी दिन भन्दै असोज २९ गते प्रशिक्षण भेला बोलाएलगतै बैद्य पक्षले २८ गते समानान्तर भेला बोलाएको थियो । प्रचण्डको प्रस्ताव अनुसार पदाधिकारीहरुको बैठकले दुबै भेला स्थगित गर्दै आगामी कार्तिक १७ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले केन्द्रीय समितिले निर्णय नगर्दासम्म विवादास्पद अभिव्यक्ति नदिन र छलफल भेला जस्ता कार्यक्रम नगर्न समेत निर्देशन दिएको छ ।
गाइजात्रा नगरौं, अलग-अलग जाउँ: प्रचण्ड
पदाधिकारी बैठकमा प्रचण्डले अहिलेकै जसरी अघि बढ्ने हो भने अब एकैठाउँमा बस्नुको औचित्य नरहेको बताउनु भएको थियो । पार्टी नेतृत्व र सरकारविरुद्ध आन्दोलन गर्नु, अलग अलग भेला बोलाउने लगायतका गतिविधीलाई गाइजात्राको संज्ञा दिँदै प्रचण्डले अलग-अलग राष्ट्रिय कार्यकर्ता प्रशिक्षण भेला गर्ने हो भने एउटै पार्टीमा बस्नुको कुनै औचित्य नभएको बताएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।
भेला स्थागतले विवाद समाधान गरेको नभई संकट टरेको मात्र भन्दै माओवादी नेताहरुले अब बस्ने केन्द्रीय समितिको बैठकले माओवादी फुट्ने वा एक भएर जाने तय गर्ने बताएका छन् । अबको बैठकमा एकीकृत भएर जाने कि अलग अलग भन्नेबारे तय गर्छ’ प्रचण्ड निकटका पोलिटव्युरो सदस्य हरिबोल जगुरेलले भन्नुभयो-’शान्ति र संविधानको बाटोमा सहमति भएर हामी एक भएर आउँछौं । हैन भने अलग अलग हुन्छौं ।’ बैद्य पक्षले शान्ति र संविधानमा सहमति नजनाउने हो भने एउटै पार्टीमा रहेर अघि बढ्न नसक्ने संस्थापन पक्षको बुझाई छ । संस्थापन पक्षले पार्टी भित्रको विवादले शान्ति र संविधान निर्माण प्रक्रिया नरोकिने पनि बताएको छ ।
बैद्य पक्षका नेता नत्रविक्रम चन्द विप्लवले पनि केन्द्रीय समितिको बैठकले माओवादी फुट्ने वा एक भएर जाने तय गर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’यो बैठक सामान्य खालको होइन, यसले माओवादी कसरी अघि बढ्छ भनेर निर्धारण गर्छ ।’ आफूहरुलाई शान्ति र संविधान विरोधी भन्नु अल्पज्ञान र भ्रम भएको भन्दै उहाँले आत्मसमर्पण गरेर कांग्रेस एमाले जस्तै बन्ने कि माओवादी नै रहने भन्ने मुख्य विवाद भएको बताउनु भयो । चन्दले भेला स्थगनले उत्कर्षमा पुगेको विवाद केन्द्रीय समितिको बैठकसम्म धकेलिएको बताउनु भयो ।
लडाकूहरुको हतियार भण्डारण गरिएको कन्टेनरको साँचो विशेष समितिलाई हस्तान्तरण गरेपछि उत्पन्न विवाद समाधान गर्न बोलाइएको माओवादी केन्द्रीय समिति बैठक भने पटक-पटक स्थगित हुँदै आएको छ । साँचो हस्तान्तरणको विरोधमा बैद्य पक्षले पार्टी नेतृत्व र पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको सरकारविरुद्ध सडक आन्दोलन गर्दै आएको छ ।
माओवादी पदाधिकारीहरुको बैठकले भूमिसुभार मन्त्री एवं पार्टी केन्द्रीय सदस्य प्रभु साहविरुद्ध लगाएको हत्या आरोपको मुद्धा निराधार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
यस्तै नेपाल सम्वत चियापान कार्यक्रम गर्ने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । बैठकमा सातै जना पदाधिकारीको सहभागिता रहेको थियो । यसअघि बैद्य पक्षले पदाधिकारी र स्थायी समितिको बैठक बहिस्कार गर्दै आएको थियो ।