काठमाडौँ । जति दिन सरकारमा रहिन्छ, राम्रो गर्नुपर्दछ भन्ने भावनाका साथ मुस्ताङ गाडी चढेर काम थालेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको एउटा कामले नेपाली सेना असन्तुष्ट बनेको छ । यसै घटनाका कारण प्रधानमन्त्री-सेना सम्बन्धमा चिसोपन आएको एक उच्च सैनिक अधिकारीले बताएको एमालेनिकट साप्ताहिक पत्रिका ‘बुधबार’ले छापेको छ ।
प्रसङ्ग हो- सोमबार कार्यभार सम्हाल्नुअघि प्रधानमन्त्री भट्टराईले गरेको एउटा नयाँ कामको । उहाँले सहिदको प्रतिमामा माल्र्यापण गर्नुका साटो नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्र्यापण गर्नुभएको थियो ।
यसले कम्युनिस्ट आन्दोलनमा लागेका, पुष्पलालका प्रशंसक र अनुयायीहरूलाई खुसी नबनाउने कुरै भएन । तर, नेपाली सेनाले भने ‘परम्परा तोडिएको’ भन्दै असन्तुष्टि जनाएको छ । विगतमा प्रधानमन्त्री बन्नासाथ सहिद गेटमा गएर नेपालको प्रजातान्त्रिक आन्दोलनका चार सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको प्रतिमामा माल्र्यापण गर्ने प्रचलन थियो । तर, उनीहरूभन्दा माथि तत्कालीन राजा त्रिभुवनको प्रतिमा राखिएको भन्दै गणतन्त्र स्थापनापछिका प्रधानमन्त्रीहरूले त्यहाँ जान छोडेका छन् । त्यसको सट्टा पूर्ववर्ती प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले लैनचौरमा रहेको सहिद पार्कमा गई माल्यार्पण गर्नुभएको थियो । तर, प्रधानमन्त्री भट्टराईले भने त्यसो पनि नगरी कुनै सहिदको प्रतिमामा माल्यार्पण गर्नुभएन ।
प्रधानमन्त्रीले कार्यभार सम्हाल्नुअघि राष्ट्रकै तर्फबाट सहिदहरूप्रति सम्मान गर्ने चलन रहँदै आएको छ । त्यसका लागि नेपाली सेनाले शोक धुन बजाउनुका साथै सलामी समेत दिने गर्दछ । तर, सोमबार उनीहरूले सहिदको साटो नेकपाका संस्थापक महासचिव पुष्पलाललाई उक्त सलामी अर्पण गरेका थिए । सिंहदरबारस्थित गणका गणपति कर्णेल कृष्णप्रसाद भण्डारीको कमान्डमा चम्पादेवी पुगेका आधा दर्जन सैनिकले आफ्नो परम्परा अनुसार पुष्पलालको प्रतिमामा फूल चढाउने, सलामी अर्पण गर्ने र विगुल फुक्ने काम गरेका थिए । तर, एउटा राष्ट्रिय झन्डा पनि नभएको ठाउँमा ल्याएर पार्टीविशेषको नेतालाई सलामी दिन लगाएको भन्दै उनीहरू असन्तुष्ट रहेको स्रोतले जानकारी दियो ।
सैनिक टोली चम्पादेवी जानुअघि सैनिक उच्च नेतृत्वमा पनि यसबारेमा छलफल भएको स्रोतको भनाइ छ । स्रोतले भन्यो- ‘हामीले अघिल्ला प्रधानमन्त्रीज्यूहरू जस्तै लैनचौर पुगेर सहिदका शालिकमा माल्यार्पण गरे हुन्छ भन्ने सुझाव पठाएका थियौँ । तर, उताबाट चम्पादेवी नै जाने खबर आयो ।’ प्रत्येक प्रधानमन्त्रीले यस्तै गर्दर्ै जाने हो भने राम्रो परम्परा नबस्ने सेनाको सुझाव थियो । ती अधिकारीले भने- ‘काङ्ग्रेसको आउँदा बीपीको शालिक खोज्दै जाने अनि मधेसी आउँदा गजेन्द्रनारायण सिंहको शालिक खोज्दै जाने स्थिति बन्नु हुँदैन भन्ने हाम्रो भनाइ हो ।’ चम्पादेवी पुगेका सैनिक अधिकृतहरू मलिन अनुहारमा देखिन्थे । ‘कसको शालिकमा माला चढाउने भन्ने कुरा राष्ट्रले तय गर्नुपर्दछ, व्यक्तिको इच्छामा भर पर्नुहुँदैन’- सैनिक स्रोतले भन्यो- ‘हँसिया-हथौडा वा चार तारे झन्डाको मुनि सेनालाई झुकाउनु राम्रो हुँदैन । त्यस्ता ठाउँमा कार्यक्रम गर्ने हो भने व्यक्तिगत रूपमा जान सकिन्छ ।’
नेपालमा प्रजातन्त्रदेखि गणतन्त्र स्थापनासम्ममा ज्यान आहुति गरेका सयौँ सहिद छन् भने माओवादी स्वयम् विगत द्वन्द्वमा मारिएका आफ्ना कार्यकर्तालाई पनि सहिद मान्दै आएको छ । पुष्पलाल नेपालको प्रजातान्त्रिक र कम्युनिस्ट आन्दोलनका सम्मानित नेता हुन् । उनको प्रतिमामा माल्यार्पण गर्नुलाई अस्वाभाविक रूपमा लिइएको छैन । तर, पुष्पलाल सहिद भने होइनन् । पहिला औपचारिक रूपमा सहिदको शालिकमा माल्यार्पण गरेर त्यसपछि व्यक्तिगत रूपमा पुष्पलालको शालिकमा माल्यार्पण गर्न गएको भए उपयुक्त हुने एक अधिकारीले बताए ।
पहिलो दिन भएकाले होला, चम्पादेवीमा प्रधानमन्त्री भट्टराई र सैनिक टोलीबीच तालमेल मिलेको देखिएन । पहिलादेखि नै कर्णेल भण्डारीले सैनिक अधिकृृतहरूलाई उभिने, फूल दिने, अगुवाइ गर्ने, सलामी दिने र विगुल बजाउने तरिका सिकाएका थिए । सुरुमै प्रधानमन्त्रीलाई स्यालुट हानेर दायाँ-बायाँबाट दुई सैनिकले फूल समाएका थिए । उनीहरूले पुष्पलालको शालिकमा फूल चढाएपछि सलामी अर्पण गरेर हात नझार्दासम्म प्रधानमन्त्री भट्टराई पनि उभिरहनुपर्ने थियो । तर, पद बहाली गर्न हतारिनुभएका प्रधानमन्त्रीले हतार-हतार लालसलाम गरेर फटाफट उत्तरतर्फ लागेपछि सैनिकहरू अक्कमक्क परेका थिए । यता सेनाले पुष्पलाललाई सलामी दिइँरहँदा प्रधानमन्त्री भट्टराई भने प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीभक्त उपाध्याय, लोककृष्ण भट्टराई, सचिव गङ्गालाल तुलाधारलगायतसँग शालिक निर्माणका बारेमा जानकारी लिँदै हुनुहुन्थ्यो ।
कुनैबेला पुष्पलाललाई ‘गद्दार’ को पगरी गुथाउने मोहनविक्रम सिंहको स्कुलिङबाट राजनीति आरम्भ गरेका प्रधानमन्त्री भट्टराईले पुष्पलाललाई सम्भिmनुलाई कम्युनिस्ट कार्यकर्ताले भने सकारात्मक रूपमा लिएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको प्रतिष्ठानको परिसरमा भट्टराई पहिलो पटक पुग्नुभएको हो ।





