पशुपतिमा तीजका क्रममा ४० महिला लाइनमै बेहोस
Wednesday, 31 August 2011 Posted by कृष्णपक्ष थापा

काठमाडौं, भदौ १५ - तीजको ब्रत बसी पशुपतिनाथ गएका चालिस महिला लाइनमै बेहोस भएका छन्। नियमित पूजाका कारण बुधबार दिउँसो १२ देखि १ बजेसम्म प्रवेशमा रोक लगाइएकाले चर्को घाममा उभिँदा उनीहरू बेहोस भई लडेका थिए। 'पानीसमेत नखाई ब्रत बस्नाले यस्तो भएको हो,' पशुपति क्षेत्र विकास कोष सदस्य तथा तीज पर्व आयोजक मूल समिति संयोजक शिला पन्तले भनिन्, 'हामीले नै उपचार गरायौं।'

पशुपतिनाथस्थित स्वास्थ्य शिविरमा खटिएका कृष्ण न्यौपानेका अनुसार, बेहोस हुनेको संख्या धेरै हुँदा उपचारमा समस्या उत्पन्न भएको थियो। 'सम्हाल्नै गाह्रो भो,' उनले भने 'बिरामीलाई पानी खान आग्रह गरे पनि अस्वीकार गरे।'कोषले २० मिनेटभित्रै मन्दिरको दर्शन गराउने दावी गरे पनि कार्यान्वयन भएन। धेरै दर्शनार्थीले दुई घन्टाभन्दा बढी कुरेर मात्रै पूजा गर्न पाएको बताए। 'पूजा गरेर निस्कनै चार घन्टा लाग्यो,' कोटेश्वरकी तुलसा खनालले भनिन्, 'समय धेरै लागे पनि अघिल्लो वर्षभन्दा नाचगानको व्यवस्थापन चाहिँ राम्रो रहेछ।'


कोष सदस्य तथा प्रचार प्रसार उपसमिति संयोजक उमेश कुइँकेलले जुत्ता चप्पल व्यवस्थापनमा समस्या भएकाले लाइन केही लम्बिएको बताए। 'हामीले तोकेकै समयमा दर्शन गर्न नपाए पनि गत वर्ष भन्दा सहज तरिकाले महिलाहरुले पूजा गर्न पाए,' उनले भने। कोषका सदस्य सचिव सुशील नाहाटाले साँझसम्म तीन लाख दर्शनार्थी आएको दावी गरे। यसअघि कोषले पाँच लाखलाई मन्दिर दर्शन गराउनसक्ने व्यवस्था मिलाएको थियो। डेढ सयले मात्र लाइन नबसी दर्शन गर्न चाहनेहरुका लागि व्यवस्था गरिएको सःशुल्क दर्शन सुविधा लिएका छन्। स्थानीयको सहयोगमा बनाइएका चार मञ्चमा जोसुकैलाई नाचगान गर्न पाउने व्यवस्था मिलाइएको थियो। 'मनोरन्जनको व्यवस्था भएकाले पनि भीड बढेको हो,' नाहाटाले बताए।

दर्शनका लागि गौशालाबाट वनकाली हुँदै पन्चदेवल, त्यहाँबाट पूर्वी र दक्षिण गेट, उमाकुण्डबाट गुरुमार्ग हुँदै उत्तर गेट र भुवनेश्वरीबाट र्‍याम्प दर्शन गर्न पश्चिम गेट छिर्न सक्नेगरि कोषले व्यवस्था मिलाएको थियो। पूर्वराजपरिवारका सदस्य आउने भन्दै कोषले तयारी गरे पनि दर्शनका लागि कोही पनि गएनन्। पूर्व युवराज्ञी हिमानी शाहमाथि पहिले ढुंगा हानिएकाले नआएको हुन सक्ने आयोजकले बतायो। (नागरिक)

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates