महाकाली नदीमा पानीको बहाव बढ्यो
साउन २१ महेन्द्रनगर। महाकाली नदीमा पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ । शारदा ब्यारेज नियन्त्रण कक्षले आज बिहानैदेखि खतराको संकेत स्वरुप रातो बत्ति बालेको हो । पानीको बहाव बढेपछि बिहानदेखि शारदा ब्यारेजमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ ।
ब्यारेज जिर्ण बन्दै गइरहेकोभन्दै भारतीय पक्षले एकलाख क्विसेक पानीको बहाव पुगेपछि खतराको संकेत स्वरुप रात्तो बत्ति बाल्ने गरेको छ । आज बिहानको मापन अनुसार महाकाली नदीमा १ लाख २३ हजार क्विसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । पहाडी जिल्लाहरुमा गएराती भारी वर्षाभएपछि महाकाली नदीमा पानीको बहाव बढेको हो ।
नदीमा पानीको बहाव बढेपछि नदी छेउ किनारमा रहेका भुजेला, ओदाली, बडैपुर क्षेत्रमा केहिदिन अघि कटानी रोक्नका लागी बनाइएको अस्थायी तटबन्ध समेत पानीको बहावले बगाउन थालेको छ ।




