कोरियामा कलाकारको लर्को
Thursday, 8 September 2011 Posted by कृष्णपक्ष थापा

देवेन्द्र सम्बाहाम्फे, कोरिया -

यति बेला कोरियालाई ठूलो पर्व छुसकले छोएको छ। नेपालीहरूबीच दसैंकै जस्तो महत्त्व रहेको यो पर्वले नेपाली कलाकारलाई साँच्चिकै दसैंको स्थितिमा पुर्‍याइदिएको छ। यहाँका चार नेपाली संस्थाले भिन्ना भिन्नै सांस्कृतिक कार्यक्रम गर्न लागेपछि नेपाली कलाकारहरूको तानातान जस्तै भएको छ। राजधानी सियोलका विभिन्न आधुनिक हलमा आउँदो आइतबार दुई तथा सोमबार र मंगलबार एक-एक कल्चरल सो हुँदै छन्, जसका लागि एक्काइसजना नेपाली कलाकार निम्त्याइएका छन्।

'हिमाल पहाड तराई, सहयोग सद्भाव र मित्रता बढाऔं, कोही छैन् पराई' नारासाथ मगर संघले आफ्नो आठौं वार्षिकउत्सव पारेर आइतबार 'रमाइलो सांस्कृतिक सौगात-शृंखला ४' प्रस्तुत गर्न लागेको हो। यो शृंखलामा गायिका इन्दिरा जोशी, अभिनेत्री सोनिया केसी, गायक प्रमोद खरेल, लोकदोहोरी कलाकार राजु गुरुङ र मुना थापा मगरले मनोरञ्जन दिनेछन्। यसको नाफा आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको छात्रवृत्ति कोष र विमेन फर विमेनले स्थापना गर्न लागेको महिला आवास गृहलाई प्रदान गरिने आयोजकले बताएको छ।

आइतबारै सोलुखुम्बु सम्पर्क समितिले 'सगरमाथा सांस्कृतिक कार्यक्रम' आयोजना गरेको छ। यसका लागि गायक राजेशपायल राई, नृत्यांगना सोनाम गुरुङ, गायिकाहरू माण्डवी त्रिपाठी र प्रकृति गिरी निम्त्याइएका छन्। प्रस्तुतिको मुख्य उद्देश्य भने पर्यटन वर्षको प्रचारप्रसार गर्दै नेपाली भूमिलाई कोरियामा चिनाउनु रहेको छ।
सोमबार कास्की परिवारले 'माछापुच्छ्रे सांगीतिक सौगात' राखेको छ। हाँस्य कलाकारद्वय शिवहरि पौडेल र किरण केसी, गायकहरू रामचन्द्र काफ्ले, धन गुरुङ र भाष्करध्वज श्रेष्ठ, गायिका निशा सुनुवार, नृत्यागना सबनम गुरुङ सौगातको आकर्षण हुनेछ। अनाथ बालबालिकाका लागि शिक्षा र खेलकुदमा सहयोग गर्ने उद्देश्य रहेको कार्यक्रममा नेपालकी राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङलाई सम्मान पनि गरिनेछ।




छुसक पर्वको अन्तिम दिन 'चितवन धमाका' हुनेछ, जसमा नायिका ऋचा घिमिरे, गायक निमा रुम्बा, हाँस्य कलाकार जितु नेपाल, गायिका कोमल वली र गायक मिलन लामाको जोडी जम्दै छन्। आयोजक चितवन सम्पर्क समितिका अनुसार यो कार्यक्रमको मुनाफाले नेपालका अनाथ तथा अपाङग बालबालिकाको शिक्षामा सहयोग गरिनेछ।

तीन दिने बिदा भएकाले सियोलबाहिर थेगु, थेजन, कुमी, उल्सान, पुसान क्षेत्रमा कार्यरत नेपालीहरू पनि उपस्थित हुने आयोजकले दाबी गरेका छन्। सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको स्थलहरूमा मेट्रो ट्रेन र नगर बसहरूबाट सजिलै पुग्न सकिने भएकाले पनि नेपाली दसैं आउन केही महिना बाँकी छँदै कोरियाली नेपालीले रमाइलो रंङगमा छुसक मनाउने छन्।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates