१६ भदौ काठमाडौं
एकीकृत माओवादीले लडाकुको अस्थायी शिविर बिशेष समितिलाई बुझाउने निर्णयबाट पछि नहट्ने स्पष्ट पार्दै पार्टीले सर्वसम्मत रुपमा गरेका निर्णय सम्मान गर्न निर्देशन दिएको छ । केन्द्रीय कार्यालय कोटेश्वरमा आज विहान बसेको स्थायी समितिको अनौपचारीक बैठक पछि अध्यक्ष पुष्पकमल दाहालद्धारा जारी विज्ञप्तीमा माओवादी नेतृत्वमा सरकार गठन लगत्तै लडाकु हतियार र कन्टेनर मूर्त रुपमा विशेष समितिलाई हस्तान्तरण गर्ने भन्ने निर्णय सर्वसम्मत रुपमा भएको उल्लेख गर्नुभएको छ । उहाँले असार-१० गतेदेखि साउन-९ गते सम्म बसेको केन्द्रीय समिति बैठक र भदौ-८ गते बसेको स्थायी समिति बैठकले पनि पाँच बुँदे प्रस्तावमा प्रतिबद्धता समेत सर्वसम्मत रुपमा गरेको बताउनुभएको छ ।
त्यसै गरेर माओवादी अध्यक्ष दाहालले उपाध्यक्ष मोहन बैद्य किरणले हिजो बेलुका विज्ञप्ती जारी गरेर विशेष समितिको निर्णय पार्टीको निर्णय विपरित भन्दै सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरेको कुराले पार्टी स्तब्ध भएको बताउनुभएको छ । उहाँले उपाध्यक्ष बैद्यको वक्तव्य एवम् पार्टी पद्धति र निर्णय विपरितका कि्रयाकलापबाट उत्तेजित नभई धैर्य भई बस्न आह्वान गर्नुभएको छ । अध्यक्ष दाहालले पार्टीका निर्णय विपरितका कि्रयाकलापबाट उत्तेजित नभई धैर्य एवम् दृढतापूर्वक आधिकारिक निर्णयका पक्षमा कायम रहन सम्पूर्ण पार्टी पङ्क्ति जनमुक्ति सेना र आमजनसमुदायसित अपील गर्नुभएको छ ।
उपाध्यक्ष बैद्यले पार्टी निर्णय विपरीत आत्मघाती निर्णय गरिएको भन्दै आज सडक आन्दोलन समेत गर्नुभएको थियो ।
यसैवीच हतियार रहेका कन्टेनरको चाबी बुझाउने निर्णय लगत्तै संस्थापन पक्षसंग असन्तुष्ट उपाध्यक्ष बैद्य समूहले स्थायी समिति बैठक बहिष्कार गरेको छ । बैठकमा बैद्य समूहका ६ जना स्थायी समिति सदस्यको अनुपस्थिति रहेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
बैठकमा अनुपस्थित हुनेमा वरिष्ठ उपाध्यक्ष मोहन बैद्य उपाध्यक्ष नारायणकाजी श्रेष्ठ महासचिव रामवहादुर थापा सचिव सीपी गजुरेल स्थायी समिति सदस्य देव गुरुङ र नेत्रविक्रम चन्द रहनुभएको शर्माले बताउनुभयो । माओवादीको इतिहाँसमा स्थायी समिति बैठक बहिष्कार गरेको यो नै पहिलो घटना हो । बैद्य समूहका स्थायी समिति सदस्य देव गुरुङले कसैसंग सल्लाहा र तयारी विना बोलाएको स्थायी समिति बैठकमा आफुहरु नगएको बताउनुभयो । ६ जनाले बैठक बहिष्कार गरेपछि भोली बिहान बस्ने गरेर स्थायी समिति बैठक स्थगित गरिएको छ ।





