कात्तिक २४,काठमाडौँ । प्रधानमन्त्री डा बाबुराम भट्टराई र माल्द्विभ्सका राष्ट्रपति मोहम्मद नसिदबीच बुधबार राति माल्द्विभ्सको अड्डुमा भेटवार्ता भयो ।
सत्रौँ सार्क शिखर सम्मेलनका लागि हिजो अपराह्न अड्डु पुग्नुभएका प्रधानमन्त्री भट्टराई र माल्द्विभ्सका राष्ट्रपति नसिदबीच भएको भेटमा सार्कलाई कुरा गर्ने थलो भन्दा पनि सर्वपक्षीय हितका निम्ति काम गर्ने ठाउँको रूपमा विकास गर्ने विषयमा सहमति भयो । प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार दुबै देशमा दूतावास नभएकाले कूटनीतिक प्रयासमा अड्चन देखिएको भन्दै दुबै पक्ष आ–आफ्नो देशमा राजदूतावास स्थापना गर्न सहमत भएका थिए । भेटमा नेपाल र माल्द्विभ्सबीच सिधै हवाई सम्पर्कका लागि उच्चस्तरीय छलफल गरी तत्काल कार्यान्वयन गर्ने सहमति पनि दुई पक्षबीच भएको छ । त्यस्तै, दुई देशबीच पर्यटन र व्यापार बिस्तारका प्रचूर सम्भावना रहेकाले यसका लागि ‘प्याकेज’ बनाएर अघि बढ्न राष्ट्रपति नसिद र प्रधानमन्त्री भट्टराई सहमत हुनुभएको बुझिएको छ । प्रधानमन्त्री भट्टराईले राष्ट्रपति नसिदलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गर्नुभयो । प्रत्युत्तरमा राष्ट्रपति नसिदले प्रधानमन्त्रीको प्रस्तावको सहर्ष स्वीकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी दिनुभयो ।